झापा, पुस ७ । झापाको मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुखबीच कार्यक्रमको प्रमुख अतिथि बन्न होडबाजी नै चलेको छ । कार्यक्रममा को प्रमुख अतिथि बन्ने भन्ने कुरा मिलाउन आयोजकहरुलाई नै हैरानी भएको छ । नगरप्रमुख र उपप्रमुख निम्तो गर्दा दुवैले प्रमुख अतिथि आफुलाई बनाउन दबाब दिने गरेको कार्यक्रम आयोजकहरुले सुनाउन थालेका छन । यतिसम्मकी एउटै कार्यक्रममा पालैपालो प्रमुख अतिथि बनेर पनि नगरप्रमुख र उपप्रमुख कार्यक्रममा सहभागि हुन थालेका छन ।
यसै बिच दुई दिन अघि नगर भित्र भएको एउटै कार्यक्रममा प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना पोखरेल उप्रेती दुवै जना पालैपालो प्रमुख अतिथि भएको खुलासा भएको छ । पुस ५ गते बिहिबार धुलाबारीमा राष्ट्रिय निजी तथा अवासीय विद्यालय एशोसिएशन नेपाल (एन प्याव्सन) मेचीनगर समितिको पद हस्तान्तरण कार्यक्रममा नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीलाई पालैपालो प्रमुख अतिथि बनाएर कार्यक्रम सम्पन्न भएको छ ।
एन प्याब्सनले पदहस्तान्तरणका लागि नगरप्रमुख बुढाथोकीलाई प्रमुख अतिथिका रुपमा निम्ता गरेको आयोजकले जनाएको छ । तर कार्यक्रमको शुरुवात उपप्रमुख उप्रेतीलाई प्रमुख अतिथि बनाएर गरियो । प्रमुख अतिथिका रुपमा एक घण्टा बसेर मन्तव्य राखेर उपप्रमुख उप्रेती कार्यक्रमबाट विदा भए पछि नगरप्रमुख बुढाथोकी कार्यक्रमस्थलमा पुग्नु भयो । त्यस पछि उहाँलाई फेरि प्रमुख अतिथि बनाएर कार्यक्रम अगाडी बढाइएको कार्यक्रमका एक सहभागिले बताउनु भयो ।
‘हामीले नगरप्रमुखलाई प्रमुख अतिथि भनेर निम्ता गरेका थियौं,’ आयोजक एन प्याब्सनका एक पदाधिकारीले सेतोपत्रसंग भन्नुभयो, ‘कार्यक्रमको शुरुमा उपप्रमुख पुग्नु भयो र प्रमुख नआउने सूचना गर्नु भयो, त्यसपछि उपप्रमुखलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम शुरु गर्यौं ।’ उहाँका अनुसार उपप्रमुख कार्यक्रमबाट विदा भए पछि प्रमुख पुगेका कारण फेरि प्रमुख अतिथिका रुपमा नगरप्रमुखलाई आशन ग्रहण गराईएको थियो ।
त्यतिमात्रै होईन उक्त कार्यक्रममा बक्ताका रुपमा एउटै कार्यालय अर्थात मेचीनगर नगरपालिकाका तर्फबाट मात्रै चार जनाले मन्तव्य राखेका थिए । नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, कार्यपालिका सदस्य ह्रदय राजबंशी र निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको आयोजकले जानकारी दिएको छ । कार्यक्रमकै बिच एन प्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईले नवनिर्वाचित अध्यक्ष कविन्द्र श्रेष्ठलाई पदहस्तान्तरण गर्नु भएको थियो ।