झापा, पुस ३ । इलामको एउटा स्थानीय तहले आफ्ना नागरिकको जन्म र मृत्यु संस्कार गर्न आर्थिक सहयोग गर्ने गरेको छ । इलामको देउमाई नगरपालिकाले नगरभित्र जन्मने प्रत्येक बच्चालाई पौष्टिक आहारका लागि र मृत्यु हुँदा मृत्यु संस्कारका लागि नगरपालिकाकै तर्फबाट बजेट उपलब्ध गराउने व्यवस्था गरेको नगरप्रमुख सुर्यप्रसाद पोख्रेलले बताउनु भयो ।
नगरपालिकाले सामाजिक सुरक्षा र सुरक्षीत मातृत्वका लागि कार्यविधि नै बनाएर बजेट बिजियोजन गरेको छ । आर्थिक बर्ष २०७५/०७६ देखि नै देउमाई नगरपालिको पालिका भित्र बच्चा जन्मने बित्तिकै पाँच हजार नगद दिने गरेको नगरप्रमुख पाख्रेलले सेतोपत्रलाई बताउनु भयो । ‘सुरक्षीत मातृत्व शीर्षकमा पालिकाभित्र बच्चा जन्मिने बित्तिकै सबैलाई पाँच हजार नगद दिने व्यवस्था गरेका छौं,’ नगरप्रमुख पोख्रेलले भन्नुभयो, पालिकाका हरेक बच्चा जन्मदेखि नै स्वस्थ होस भन्ने उद्देश्यले पौष्टिक आहारका लागि रकम दिने गरेका छौं ।’ त्यस्तै नगरपालिकाले मृत्यु संस्कारका लागि पनि पाँच हजार दिने गरेको छ । ‘हामीले नगरपालिकाबाट कार्यविधि नै बनाएर मृत्यु भएको प्रत्येक परिवारलाई दाहसंस्कार खर्चका लागि पाँच हजार नगद दिने गरेका छौं,’ नगरप्रमुख पोख्रेलले भन्नुभयो । नगरपालिकाले ६० बर्ष उमेर माथिका एकल पूरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिदैं आएको छ । आर्थिक बर्ष २०७५/०७६ देखि नै एकल पूरुषलाई पनि मासिक एक हजार नगद दिने गरेको प्रमुख पोख्रेलले बताउन भयो ।
नगरपालिकाले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई मासिक एक हजार भत्ता वितरण गर्दै आएको छ । त्यसैगरी देउमाई नगरपालिकाले अविवाहित महिलालाई समेत समाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । नगरपालिकाले विगत तीन आर्थिक बर्षदेखि ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको हो । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेस्रोलिङ्गीलाई मासिक पाँच सयका दरले रकम उपलब्ध गराउँदै आएको नगरप्रमुख पोख्रेलले बताउनु भयो । देउमाई नगरपालिकाले पहेंलो कार्ड पाएका अपाङ्गता भएकाहरुलाई समेत मासिक पाँच सय दिने गरेको छ ।
त्यस्तै जेष्ठ नागरिकलाई चार्डपर्व खर्चका लागि बार्षिक दुई हजार दिने गरेको नगरप्रमुख पोख्रेलले बताउनु भयो । नगरपालिकाले जटिल प्रकारका रोगीहरुलाई पहिलो पटक अस्पतालसम्म पुग्नका लागि यातायात खर्चका लागि पाँच हजार उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ देखि नै तेस्रो लिङ्गिलाई समेत मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको नगरप्रमुख पोखरेलले बताउनु भयो ।
देउमाई नगरपालिकाको चालु आर्थिक बर्षको बजेट करीब ५८ करोड रहेको बताइएको छ । २०७४ मा नेकपा एमालेका तर्फबाट नगरप्रमुखमा निर्वाचित हुुनुभएका पोख्रेल २०७९ मा पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।