पाँचथर, पुस १ । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गर्नुभएको हो ।
संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न एमालेले झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको थियो।
यात्राका क्रममा मध्यपहाडी राजमार्गमा पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमको यात्रा गरेको थियो। यसैगरी बागलुङ, पर्वत, कास्की, लमजुङ, धादिङ, नुवाकोट हुदै काभ्रेपलान्चोक, सिन्धुपाल्चोक जिल्लाको यात्रा टोलीले भ्रमण गरेको थियो। यसैगरी रामेछाप, सिन्धुली, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा हुँदै यात्रा टोली तेह्रथुमबाट पाँचथर पुगेको थियो।
यात्राको क्रममा मध्यपहाडी राजमार्गले नछुने चारवटा जिल्लाहरुमा एमालेको टोली पुगेको छ। जसमा गुल्मी, सुर्खेत, सल्यान र दोलखा रहेका छन्। यसरी मध्यपहाडी राजमार्गमा भित्रका २६ र त्यस बाहिरका चारवटा गरेर ३० वटा जिल्लाका जनतासँग एमालेले संवाद गरेको छ। यात्रा टोली भोली बिहान काठमाडौं फर्कने छ । काठमाडौं फर्कदा अधिकांश नेताहरु भद्रपुर विमानस्थल भएर काठमाडौं फर्कने तयारीमा रहेको बुझिएको छ ।