झापा, मंसिर २५ । करिव दुई महिना अघि छिमेकीवाटै जातीय विभेद व्यहोरेकी मेचीनगर १० सयपत्री टोलकी रञ्जु विश्वकर्मा कडरियाले विभेदको मुद्धा दर्ता गरेपछि स्थानीयवासी, राजनीतिक दल र सामाजिक अगुवाहरुवाटै थप विभेद भोग्नु परिरहेको बताउनु भएको छ । दलितलाई दुध दिँदा गाई विरामी हुने र परिवारका सदस्यहरुलाई पनि रगत छाद्ने समस्या आउने भन्दै उहाँलाई गत असोज २२ मा स्थानीय सीता दाहालले दुध किन्नबाट बन्चित गर्नुका साथै अर्की स्थानीय मैया दाहालले पनि थप विभेद हुने गरी अभिव्यक्ति दिएकी थिइन् ।
उक्त घटनापछि रन्जुले असोज २४ मा इलाका प्रहरी कार्यालय धुलावारीमा जातीय विभेदविरुद्ध जाहेरी दिएकी दिनुभएको थियो । प्रहरीले करिव दुई महिना लामो अनुसन्धान पश्चात विभेद गर्ने मैया दाहाल र सिता दाहाललाई मंसिर २० मा पक्राउ गरेको थियो । उनीहरुलाई म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई जातीय विभेद गरेको मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभयो ।
उक्त घटनापछि सिंगो टोलले नै आफुमाथि विभेद गरिरहेको रन्जुले गुनासो गर्नु भएको छ । ‘सुरुमै प्रहरीमा उजुरी दिने वेलै देखि म माथि दवाव गर्न थालियो’, रञ्जुले भन्नुभयो, ‘त्यस पछि उजुरी फिर्ता लिन ठुलै दबाब आयो, अहिले सबैतिरबाट थप विभेद भोगिरहेको छु ।’ उहाँले उजुरी पछि प्रहरीले गर्ने कानुनी प्रकृयाका लागि सहयोगी समेत पाउन धेरै सकस व्यहोर्नु परेको थियो । ‘प्रहरीले ५ जना छिमेकी लिएर आउनु भनेको थियो’, रन्जुले भन्नुभयो,‘वल्ल तल्ल दुई जना सहयोगी भेटेर प्रहरीसम्म पुगे ।’
नेकपा एमालेको युवा संगठन युवा संघकी मेचीनगर कमिटि सदस्य समेत रहनु भएकी रञ्जुले आफु सम्बद्ध राजनितिक दलले पनि यो बेला सहयोग नगरेको बताइन् । नेपाली काँग्रेसका नगरसभापति सुदय पनेरुले त उहाँलाई प्रहरी कार्यालयमै हप्काएका थिए । ‘छलफलका लागि इलाका प्रहरी कार्यालयमा बोलाएको थियो रञ्जुले भन्नुभयो, ‘छलफलका बेला काँग्रेसका सुदय पनेरुले तेरो पक्षमा को लाग्छ र, सबै मान्छे हाम्रो पक्षमा बनाउँछौं, उजुरी फिर्ता लिनु भनेर हप्काउनु भयो ।’ तर आफुले उजुरी फिर्ता नलिने र जातीय विभेद विरुद्ध कानूनी लडाई लड्ने रञ्जुले बताउनु भयो । रञ्जुकै पार्टी नेकपा एमालेका नेताहरुले समेत मुद्धा फिर्ता लिन पटक पटक दबाब सिर्जना गरेको रञ्जुले बताउनु भयो ।
रञ्जुले दिएको जाहेरी अनुसार छिमेकी सीता दाहालको घरबाट दूध किनेर खान थालेको दुई दिनपछि गत असोज २२ गते अचानक उनलाई दूध दिन छाडिएको थियो । रञ्जुले ‘मलाई दूध दिन किन छाड्नु भको ?’ भनी सोध्दा दाहालले ‘तँ दलितलाई दूध दिन थालेपछि मेरो गाई विरामी भई दूध दिन छाडेको र परिवारका सदस्यहरूमा पनि रगत छाद्ने रोग देखा परेको’ भन्दै आइन्दा दूध लिन नआउनु भनेकी थिइन । मैया दाहालले समेत ‘दलितलाई दूध दिँदैनौं, कहाँ गएर के गर्नुपर्छ गरेर देखा’ भनेकी थिइन । छिमेकीबाटै जातीय विभेद र अपमान भोगेपछि रञ्जुले असोज २४ गते प्रहरीमा जाहेरी दिनु भएको थियो । जाहेरी दिनुअघि उहाँलाई स्थानीयवासी र जनप्रतिनिधिहरूले ‘मिल्न’ दबाब दिएका थिए ।