युएईमा जारी १३ औं संस्करणको आईपीएल टी–२० क्रिकेटमा किङ्स इलाभेन पन्जाबको खराव लय जारी रहेको छ । दुबईमा बिहीबार राति भएको खेलमा पन्जाबलाई ६९ रनले पराजित गर्दै सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ ।
हारपछि पन्जाब लिगको पुछारमा छ । अहिलेसम्म पन्जाबले ६ खेल खेलेकामा एउटा मात्रै खेल जितेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६।५ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।
पन्जाबका लागि निकोलस पुरनले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । हैदराबादका रशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले ६ विकेटको नोक्सानीमा २ सय १ रन बनाएको थियो ।
हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले १६० रनको साझेदारी गरे । बेयरस्टोले ५५ बलमा ९७ तथा वार्नरले ४० बलमा ५२ रन बनाए । पन्जाबका रवि बिश्नोईले ३ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए ।
अंक तालिका
जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।
पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ । मुम्बई इन्डियन्स ६ खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ ।
एक खेल कम खेलेको दिल्ली क्यापिटल्सको पनि ८ अंक नै छ । हैदराबाद, कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान ६ अंक छ । चेन्नई सुपर किंगस र राजस्थान रोयल्सको ४–४ अंक छ ।
शुक्रबारको खेल
शुक्रबार राजस्थान र दिल्ली खेल्दैछन् । शारजाहाँ क्रिकेट स्टेडियममा खेल
नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे सुरु हुनेछ ।
दुवैले छैटौं खेल खेल्न लागेका हुन् । यो खेलमा पनि नेपाली स्पिनर सन्दीप लामिछाने खेल्नेमा आशंका छ ।
सन्दीपले यसअघिका पाँचैं खेल दिल्लीबाट खेल्न पाएका छैनन् ।