बुधबार मेचीनगरको एउटा कार्यक्रममा बोल्ने क्रममा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलाको बिवाह गर्ने उमेर २० बर्षबाट घटाउनु पर्ने धारणा राख्नु भयो । सोही कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आपत्ति जनाउनु भयो र यस बिषयमा आयोगको गम्भिर ध्यानाकर्षण समेत भएको बताउनु भयो ।
त्यस बिषयको समाचार सेतोपत्र डटकम प्राकासित भयो । उक्त समाचारका बिषयमा सामाजिक सञ्चालमा थुप्रै प्रतिक्रिया आए । त्यसमा केही जनप्रतिनिधि, सञ्चारकर्मी, मेलमिलापकर्ता, शिक्षक र राजनितिक दलका नेताहरुले समेत प्रतिक्रिया दिनु भएको छ ।
१३ सय भन्दा बढी शेयर भएको उक्त समाचारको प्रतिक्रिया शतप्रतिशत नगरप्रमुख बुढाथोकीकै पक्षमा देखियो अर्थात बिवाह गर्ने उमेर २० बर्ष भन्दा कम बनाउनु पर्छ भन्नेमै सबैको एक मत देखियो । त्यसभन्दा पनि गज्जबको कुरा त के छ भने उक्त समाचार प्रति नगरप्रमुखको बिचारसंग सहमत भएर प्रतिक्रिया दिने सबै पूरुषहरु मात्रै देखिनु भएको छ । यसले पनि नगरप्रमुख बुढाथोकीको बिचारमा अधिकाशं पूरुषहरुको सहमति भएको हो की भन्ने आकँलन गर्न सकिन्छ ।
एक पटक महिलाको बिवाह गर्ने उमेर र त्यस बारे बनेको कानूनको पृष्ठभूमिलाई नियालेर हेरौं । कानून निर्माणका बेला पनि महिलाको बिवाह गर्ने उमेरका बारेमा प्रशस्तै बहसहरु भएका थिए । तर महिला सांसद र अधिकारकर्मीहरुको आवाज बुलन्द भएकै कारण महिलालाई २० बर्ष पछि मात्रै बिवाह गर्ने उमेर कानूनमा दर्ज गरियो ।
त्यसलाई अझै नजिकबाट नियाल्ने हो भने २० बर्ष अघिको शारिरीक बनोट, सन्तान जन्माउने क्षमता देखि महिलाले बिवाह पछि अध्ययन र रोजगारीका लागि व्यहोर्नु पर्ने समस्या तमाम बिषयलाई मध्यनजर गरिएको छ ।
हाम्रो समाजमा बिवाह पछि धेरै महिलाको अध्ययन र रोजगारी गुमेको अवस्था तथ्याङ्कहरुले पुष्टि गरिसकेको छ । त्यसमा पनि पढ्ने उमेरमा बिवाह हुदाँ देशमा ठुलो जनसंख्या बिद्यालय भन्दा माथिल्लो शिक्षा नलिएको जनसंख्या उत्पादन हुन्छ । उच्च शिक्षा लिन नपाउँदा अनेकन अवसरबाट महिलाहरु बन्चित हुने खतरा रहन्छ नै । त्यसैले पनि एक तहको उच्च शिक्षा प्राप्त गरिसके पछि मात्रै महिलाको बिवाह गरिदिनु पर्छ भन्ने मान्नतालाई कानूनले अङ्गिकार गरेको देखिन्छ ।
उच्च शिक्षा हासिल गरेर बिवाह भए पछि घरका बुहारीहरुले आफैंले रोजगारीका लागि इच्छा शक्ति बलियो बनाउन सक्छन । परिवारलाई विश्वासमा लिएर पनि काम गर्न घरबाट बाहिर निस्किन सक्छन । त्यति मात्रै महिनाबारीका कारण हरेक घरमा महिलाहरुले जुन विभेद भोगिरहेका छन यदि महिलाहरु शिक्षित भए भने त्यस प्रकारका विभेद भोग्नु पर्ने अवस्थाबाट पनि बाहिर आउन सक्छन भन्ने बिषयलाई समेत केन्द्रमा राखेर महिलाको बिवाह गर्ने उमेर २० बर्ष कायम गरिएको छ ।
यसो भन्दै गर्दा अहिले कम उमेरमा भए गरिएको बिवाहका कारण भएका समस्या स्थानीयस्तरमा नआएका होइनन । बिषेश गरी नगरप्रमुख र केही जनप्रतिनिधिहरुले उठाउनु भएको कम उमेरको बिवाहका कारण नागरिकता बनाउन, बिवाह दर्ता गर्न, उनीहरुबाट जन्मेको सन्तानको शिक्षादिक्षाका लागि समस्या भएको छ भन्ने जुन बिषय उठान गर्नु भएको छ । त्यो अहिलेको हाम्रो समाजको यथार्थ पनि हो । तर के यो समस्या महिलाको बिवाहको उमेर घटाएर कानूनमा संशोधन गर्दैमा पूर्ण रुपमा समाधान हुन्छ त ? कि यसले देशलाई झन बिकराल समस्या तिर लैजान्छ ?
विद्यालय उमेरमै बिवाह गर्ने बाटो कानूनले नै खोलिदिंदा हाम्रो जस्तो सामाजिक परिवेशमा विद्यालय सकेर उच्च शिक्षा नपढ्नेको जनसंख्या कुन स्तरमा बढ्छ भन्ने हामीले कति आँकलन गर्न सकेका छौं ।
अहिले कानूनले नै बर्जित गर्दा त गैरकानूनी रुपमा कम उमेरमा बिवाह भइरहेका छन भने कानूनले नै बाटो खोलिदिंदाको अवस्था के होला ? अनि हामीले छोरीलाई पनि छोरा सरह शिक्षा र रोजगारीको अवसर दिनु पर्छ भन्ने गरेको कुरा काहाँ पुग्छ होला ? किन की अबको समयमा अध्ययन बिनाको रोजगारी असम्भव जस्तो हुँदै गएको छ ।
कम उमेरमा भएको बिवाहका कारण सृजना भएको समस्यालाई सरकारले एक पटकका लागि भनेर बिशेष निर्णय गरेर वा अन्य कुनै व्यवस्था गरेर भए पनि पूर्ण रुपमा समाधान गर्नु पर्छ तर संधैका लागि कम उमेरको बिवाहलाई मान्यता दिनु दीर्घकालिन रुपमा देशका लागि जोखिम हुन्छ ।
त्यसैले क्षणिक समस्या देखाएर देशलाई नै दुरगामी रुपमा नकरात्मक असर पर्ने बिषयमा अध्ययन नगरी प्रतिक्रिया दिने हाम्रो बानीले थप समस्या बनाउँदै छ ।
त्यसो त केही बहुबिवाह गर्न नपाईने कानून बनेको पनि धेरै भएको छैन । अहिले पनि हाम्रा समाजमा एक भन्दा धेरै श्रीमती भित्र्याउनेको संख्या ठुलै छ । तर जब बहुबिवाह सम्बन्धी कानून बन्यो तब महिलाहरुलाई खेलाउने सामग्रीको रुपबाट माथि हेरिन थालिएको छ । बहुबिवाहले कानूनी मान्यता पाएको बेला हाम्रै आमा, दिदि, काकीहरुले भोगेको विभेद अहिले पनि सुन्न सकिन्छ । त्यसैले कानूनले भावि पुस्तालाई थप परिस्कृत र सुसंस्कृत बनाउन र नेपाली समाजमा रहेको महिला प्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउने काम गरिरहेको छ ।
महिला हेपाईका पात्र होईनन, उनीहरु पूरुष सरह वा पूरुष भन्दा अब्बल रुपमा काम गरेर समाजमा स्थापित हुन सक्छन भन्ने कुरालाई २० बर्ष पछि मात्रै बिवाह गर्ने भन्ने कानूनी व्यवस्थाले पनि धेरै हदसम्म सहयोग पाईन्छ छ ।
वर्तमान कानूनी प्रावधान बिरुद्ध जुन ढंगबाट पितृ सत्ता टाउको उठाएर बोल्यो त्यसले के संकेत गर्छ भने अझै पनि हाम्रो समाजको ‘पितृ सत्ता’ कानून भन्दा बलियो छ ।