झापा, मंसिर २१ । मेचीनगर नगरपालिकाको फुटबल टिम झापाको भद्रपुरमा जारी ओमसाई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा गौरादहलाई २–१ गोल अन्तरले हराउँदै मेचीनगर नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।
खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ६५ औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । तर, खेलको ७३ औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो । अब मेचीनगरले फाइनल प्रवेशका लागि सेमिफाईनलमा अर्जुनधारा नगरपालिकासंग मंसिर २२ गते प्रतिस्पर्धा गर्नेछ ।
खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।
त्यस्तै बुधबार नै भएको पहिलो खेलमा अर्जुनधारा नगरपालिकाले बिर्तामोड नगरपालिकालाई हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि ५–० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो । खेलको १९ औँ र २८ औँ मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गरे । त्यस्तै, ४२ औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७ औँ मिनेटमा राजेश दाहाल र ७४ औँ मिनेटमा प्रतिक कन्दङवाले गरेका थिए । खेलको प्लेयर अफ दि म्याच भएका अर्जुनधाराका निखिल तामाङ भए ।
उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे । प्रतियोगिताको दुवै सेमिफाइनल खेल मंसिर २२ गते र फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।