मेचीनगर, असोज २२ ।
विगत १४ महिना देखि घाइते अवस्थामा मेचीनगरका गाँउ बस्ती भौतारिरहने अन्धो भाले हात्तीको आज सफल उपचार भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट आएका चिकित्सकको टोलीले हात्तीको उपचार गरेका हुन ।
उक्त हात्तीको उपचार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष, डिभिजन वन कार्यलय झापा र स्थानीयको सहयोगमा मेचीनगर ३ स्थित तेलपानी जङ्गलमा भएको हो ।
हात्तीलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका चिकित्सकको टोलीले गोली हानेर वेहोस बनाएको स्थानीय सदेश पौडेलले सेतोपत्रलाई जानकारी दिनु भयो । पौडेलका अनुसार वेहोस भएको आधा घण्टामै हात्तीको सफल उपचार भएको छ । दुईवटै आखाँ नदेख्ने उक्त हात्तीको शरीरभरी चोटै चोट थियो ।
यसरी भयो उपचार
मेचीनगरका गाँउबस्ती डुलीरहने यो हात्ती विगत केहि हप्ता देखी हराईरहेको थियो । केहि दिन अघि तेलपानीका स्थानीयले हात्ती नजिकैको जंङ्गलमा रहेको जानकारी गराएका थिए ।
आज उक्त स्थानमा विहान ६ बजे नै जिल्ला वन महासंघ झापाका अध्यक्ष बेद प्रकास भण्डारी, हात्ती संरक्षण सम्बन्धी स्थानीय अभियान्ता शंकर लुइटेल, बिक्रम चौधरी लगायतको टोली पुगेको थियो ।
टोलीले हात्ती रहेको स्थान बारे जानकारी पाएसँगै डिभिजन वन कार्यालय झापा र पशु चिकित्सकको टोली त्यस ठाँउ आइपुगेको थियो ।
उक्त हात्तीलाई वेहोस पार्न बिहान १०ः४३ मा पहिलो गोली हानिएको थियो । एक घण्टा पर्खदा पनि हात्ती वेहोस नभए पछि चिकित्सकको टोलीले पुन ११ः५८ मा दोस्रो पटक गोली प्राहार गरेको थियो ।
दोस्रो गोली लागेको १० मिनेट मै हात्ती वेहोस भएपछि उपचार थालीएको हो । उक्त हात्तीको एउटा आँखा फुटेको छ भने अर्को आँखामा पनि समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।
हात्तीको जिउभरि भालाको चोट रहेको छ । पशु चिकित्सकको टोलीले आधा घण्टामै सफल उपचार गरेर हात्तीलाई पहिलाकै अवस्थामा छोडेका छन । झापामा जङ्गली हात्तीको उपचार गरिएको यो पहिलो पटक हो ।
यसरी सम्भव भयो उपचार
केहि वर्ष अगाडी देखिनै बिषेश गरी बाहुनडाँगी र नजिकैको बहुवन क्षेत्रमा यो हात्ती भौतारिरहन्थ्यो । आँखा नदेख्ने त्यसमा पनि घाइते रहेको यो हात्ती मेचीनगरका धेरै ठाँउमा दिउँसै देखापथ्र्यो । लामो समयसम्म हात्ती घाइते रहेपनि सरकारी संयन्त्रबाट यसको उपचारका लागि कुनै पहल भएन ।
स्थानीय समेत रहेका हात्ती संरक्षण सम्बन्धी अभियान्ता शंकर लुईटेल र स्थानीय युवा सदेश पौडेलले हात्तीको उपचारका लागि दबाव दिन थाले ।
सेतोपत्र सँगको कुराकानीमा लुईटेलले उक्त हात्तीको जीवन रक्षाका लागि विगत एक वर्ष देखि डिभिजन वन कार्यलय झापामा दवाब दिइरहेको बताउनु भयो ।
लुइटेलले जिल्ला वन कार्यलयमात्र नभएर चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोष लगायतका संस्थाहरुमा पनि पटक पटक फोन गरेर हात्तीको उपचार गर्न आग्रह गरिरहनु भएको थियो ।
फोटोग्राफर समेत रहनु भएका सदेश पौडेलले आफूहरुले समय समयमा हात्तीको अवस्था बारे जानकारी गराउन जिल्ला वन कार्यलय झापा र चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको फोटोहरु पठउने गरेको बताउँछन ।
हात्तीको अवस्था बारे बुझ्न बहुवन, थोपलेबिरान, धाइजन लगायत मेचीनगरका अन्य जंगल क्षेत्रमा गइरहने गरेको लुइटेलले बताउनु भयो । पौडेल र लुइटेल तथा अन्य स्थानीयको सक्रियतामा बर्षौ देखी घाइते हात्तीले आज सफल उपचार पाएको छ ।