मेचीनगर, मंसिर २० । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले परम्परागत रुपमा रहेको पितृ सत्ता वर्तमान कानून भन्दा बलियो रहेकाले त्यसलाई नभत्काई महिला हिंसा अन्त्य नहुने बताउनु भएको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा आज मेचीनगर नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै आयुक्त खतिवडाले महिला आयोग सामाजिक कुरीति बिरुद्ध जागरण फैलाउने अभियानमा रहेको बताउनु भयो ।
महिला आयोगको आयोजना तथा मेचीनगर नगरपालिकाको संयोजनमा सम्पन्न समाजमा विद्यमान हानिकारक अभ्यास विरुद्धको अभियान कार्यक्रममा बोल्दै आयुक्त खतिवडाले भन्नुभयो, ‘हाम्रो समाजमा रहेको पितृ सत्ता अहिलेको कानून भन्दा बलियो छ, त्यसलाई भत्काउनु पर्छ अनि मात्रै महिलाले सम्मानका साथ बाँच्न पाउँछन ।’ पीडामा परेका महिलालाई कानूनी लडाई लड्न महिला आयोगले सहयोग गर्ने पनि आयुक्त खतिवडाले बताउनु भयो । कार्यक्रममा मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले महिला हिंसा न्यूनिकरणका लागि नगरपालिकाको क्षेत्राधिकार भित्र रहेर आवश्यक कानून निर्माण गर्ने बताउनु भयो ।
नगरप्रमुख बुढाथोकीले कार्यक्रममा बोल्ने क्रममा महिलाको बिवाह गर्ने उमेर २० बर्षबाट घटाउने गरी कानून संशोधन गर्नु पर्ने धारणा राख्नु भएको थियो । जुन बिषयमा महिला आयोगकी सदस्य खतिवडाले आपत्ती समेत जनाउनु भएको थियो । नगरप्रमुखले कानूनको धज्जी उडाएको भन्दै आयुक्त खतिवडाले यस बिषयमा आयोगको गम्भिर ध्यानाकर्षण भएको भन्दै जनप्रतिनिधि भएर सार्वजनिक रुपमा गैर कानूनी अभिव्यक्ति दिन छुट नभएको टिप्पणी भयो ।
कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, झापाका प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मी लगायतले सबैखाले हिंसा अन्त्यका लागि घरबाटै अभियान चलाउनु पर्ने बताएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले झापाको हिंसाको अवस्थाका बारेमा प्रस्तुती गर्नु भएको कार्यक्रममा सहभागि अधिकारकर्मीहर संगिता थापा, गोबिन्द घिमिरे, बिटु गुरुङ, अम्बिका भण्डारी, सन्तोस प्रसाई, डम्बर बहादुर वन, कुन्दन निरौला लगायतले विभिन्न विषयमा महिला आयोगको ध्यानाकर्षण गराएका थिए । महिला आयोग सदस्य खतिवडाको अध्यक्षतामा भएको कार्यक्रम श्रीभद्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।