झापा, मंसिर १७ । झापा जिल्लामा पछिल्लो तीन बर्षमा घरेलु हिंसाको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय झापाको लैङ्गिक हिंसाको तथ्याङ्क अनुसार झापामा पछिल्लो तीन बर्षमा ६२२ वटा घरेलु हिंसाका घट्ना दर्ता भएका छन । नेपाल पत्रकार महासंघ झापाको महिला विभागले शनिवार बिर्तामोडमा आयोजना गरेको लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाको लैङ्गिक हिंसाको तथ्याङ्क प्रस्तूत गर्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जबरजस्ती करणीका घट्ना ३१६ वटा, जबरजस्ती करणीको प्रयासका घट्ना ८१ वटा, मानव बेचबिखन ६१ वटा, वाल यौन दुरुपयोगका ५९ वटा र बहुबिवाहका ३९ वटा घट्ना पछिल्लो तीन बर्षमा दर्ता भएको बताउनु भयो ।
प्रहरी निरीक्षक पराजुलीका अनुसार गत आर्थिक बर्ष २०७९/०८० मा मात्रै झापामा ४ वटा बोक्सिको आरोपको घट्ना दर्ता भएको थियो भने पछिल्ला तीन बर्षमा ६२८ जना महिलालाई विभिन्न सिमानाकाबाट उद्दार गरिएको छ । पछिल्लो तीन बर्षमा नाकाबाट उद्दार गरिएकाहरुमा वालक ७७ जना, बालिका २६३ जना र पूरुष १३३ जना रहेको प्रहरी निरीक्षक पराजुलीले जानकारी दिनुभयो । झापाको लैंगिक हिंसाको अवस्थाको विश्लेषणात्मक तथ्यांक प्रस्तुत गर्दै प्रहरी निरीक्षक पराजुलीले पीडितले सत्य कुरा नबताउँदा, उजुरी फिर्ता लिँदा, उल्टो बयान दिँदा, सहमतिको नाममा प्रमाण नष्ट गराउने प्रबृत्ति, पीडकलाई बचाउन विभिन्न गतिविधि गर्दा पीडितले न्याय पाउन समस्या भएको बताउनु भयो ।
अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याए । हिंसापीडितलाई न्याय दिन र पीडकलाई कानूनी कठघरामा ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड थियो । अन्तरक्रियाको उद्घाटन प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गर्नु भएको थियो । प्रजिअ पोखरेलले हिंसाको मुख्य कारण विभेद भएको बताउँदै मानिसको सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको बताउनु भयो । उहाँले सरोकारवालाहरु एकजुट भई समाजमा सचेतना अभियान अघि बढाउनुपर्ने बताउनु भयो ।
पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले सबैका लागि सञ्चार निष्पक्ष आवाज बन्नुपर्ने जोड दिनुभयो । उहाँले संविधानले दिएको अधिकार स्थापित गर्न सञ्चार माध्यमले वकालत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले सञ्चार क्षेत्रले उठाएका हिंसाका घट्नालाई कानूनी दायरामा ल्याउन सामाजिक अगुवाहरुले सहयोग गर्नु पर्ने बताउनु भयो । पछिल्लो समय प्रविधिको प्रयोगका कारण नभेटी, नछोई र नबोली पनि हिंसा गर्नेक्रम बढेको भन्दै त्यस तर्फ सबैले सचेत हुनु पर्ने र सञ्चारकर्मीले समेत प्रविधिका कारण हुने हिंसाका बिषयमा अध्ययन गरेर घट्ना सार्वजनिक गर्नु पर्नेमा निरौलाले जोड दिनु भयो ।
महासंघ झापाकी उपाध्यक्ष तथा महिला विभाग संयोजक सुशीला संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रञ्जिता कार्की, महिला अधिकारकर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिहरु राधा सुब्बा, पार्वता खरेल विमली, यशोदा उप्रेती, संगीता गिरी, युनिता दवाडी, अधिकारकर्मी दिपक दास लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए । त्यस्तै पत्रकार महासंघ झापा सहसचिव अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, पूर्वअध्यक्ष अम्बिका भण्डारी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले समेत कमजोरी सच्याएर सञ्चार क्षेत्र अझ जिम्मेवार ढंगले अघि बढ्ने हो भने लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने बताए । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश समितिका सदस्य लीलाराज झापाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, समाजवादी प्रेस संगठन झापाका संयोजक अनिलदेव राई, फोनिज झापाका पूर्वअध्यक्ष गणेशमान मुखिया लगायतले समेत सुझाव र प्रतिक्रिया राखेका थिए ।
कार्यक्रमको सञ्चालन महासंघ झापाकी कार्यसमिति सदस्य स्वस्तिका आचार्यले गर्नु भएको थियो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ पत्रकार महासंघ झापाको महिला विभागले अन्तरक्रिया आयोजना गरेको थियो । अन्तरक्रियामा विभिन्न क्षेत्रका सरोकारवाला तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो ।