मेचीनगर, मंसिर १२ । बैदेशिक रोजगारीका लागि कुवेत पुग्नु भएकी मेचीनगर १३ तेलीबारीकी खिल राजबंशीलाई नेपाल फर्कादिन परिवारका सदस्यले आग्रह गर्नु भएको छ । असोज ३ गते घरेलु कामदारका रुपमा कुवेत जानु भएकी ४० बर्षिया खिल राजबंशीकी आमा चिनी राजबंशीले आफ्नो छोरी समस्यामा परेको भन्दै तत्काल नेपाल फर्कादिन आग्रह गर्नु भएको हो ।
‘म काम गर्न सक्दीन, मलाई सारै अप्ठ्यारो भएको छ भन्दै संधै छोरीले फोनमा भनिरहेको छ,’ आमा चिनि राजबंशीले रेडियो मन्त्रसंग भन्नुभयो, जण्डिस लागेको छ तर पनि रातिसम्म काम गर्नु पर्छ भन्छ, त्यो भन्दा त बरु घर आउँछु भनिरहेको छ ।’ हजुरआमासंगै रहेकी खिलकी सानी छोरीले पनि आफ्नी आमालाई छिट्टै घर ल्याइदिन आग्रह गर्नु भएको छ । ‘मेरो आमालाई अप्ठ्यारो भएको छ भन्नुहुन्छ,’ ८ बर्षिया छोरीले भन्नुभयो, ‘आमालाई छिट्टै घर ल्याइदिनु न ।’ काम गर्ने ठाउँमा कुटपिट समेत हुने गरेको खिलले आमालाई बताउने गर्नु भएको आमा चिनीले बताउनु भयो ।
‘यहाँबाट जाँदा मेरो छोरी मोटो थियो,’ आमा चिनीले भन्नुभयो, ‘तर अहिले हाड्डी र छालामात्रै छ, उसलाई काम गर्ने ठाउँमा साउनीले कुट्छ पनि भन्छ ।’ कुवेत पठाउने एजेन्टले नेपाल फकाउँन ३ लाख रुपैयाँ मागेको आमा चिनीले बताउनु भयो । ‘एजेन्टलाई मेरो छोरीलाई नेपाल ल्याइदे भने ३ लाख रुपैयाँ लाग्छ भन्यो,’ चिनीले भन्नुभयो, ‘त्यत्रो पैसा मैले कसरी निकाल्नु ।’
आमा चिनीलाई टेलिफोनमा खिलले बताए अनुसार चार तलाको घरमा तीन जना महिलाको लुगाधुने, खाना बनाउनेदेखि लिएर घरका अन्य काम गर्नु पर्ने र घरभन्दा बाहिर जान नदिने र साउनीहरुले काम गर्दा कुटपिट समेत गर्ने गरेका छन । समयमा खाना खान नदिने, बिहान ७ बजेदेखि राति १२ बजेसम्म काम गर्नु पर्नेछ । ‘आमा चिनिले भन्नुभयो, नेपाल ल्याएन भने म झुण्डीएर मर्छु भन्छ, छोरीलाई नेपाल ल्याइदिनु ।’
यस अघि बैदेशिक रोजगारीका लागि ओमनमा हिंसा व्यहोर्नु परेकी मेचीनगर १५ की २८ बर्षिय संजिता राजबंशीलाई सांसद विश्वप्रकाश शर्माको पहलमा उद्दार गरी गत शनिवार नेपाल फर्काइएको थियो ।