नेपाली राजनितिका थुप्रै उचार चढाव र संघर्षको केन्द्रमा यहाँका राजनितिक दल र तिन नेतृत्व नै उभिएका छन । खास गरी नेपाली जनताले अपार समर्थनबाट नै राजनितिक दलका मुल नेतृत्व स्थापित भएका हुन्छन । तर पछिल्लो समय मुलधारका राजनितिक दलहरु स साना कुरादेखि झस्किनुले उनीहरुले आम नेपालीबाट विश्वास गुमाउँदैछन कि भन्ने आभास हुन थालेको छ । खास गरी मंसिर ७ मा झापाली व्यवशायी दुर्गा प्रसाईले काठमाण्डौ केन्द्रीत गर्ने भनिएको प्रदर्शनका बिषयलाई लिएर सरकार र राजनितिक दलबाट जे जस्ता कार्य भइरहेको छ त्यसले यो व्यवस्था दुर्गा प्रसाई एक्लैले पल्टाउँछन कि भन्ने त्रास राजनितिक दलका नेतृत्वलाई परेको देखिन्छ ।
राजनितिक दलका कार्यकर्ता र सरकार स्वयमले गरेको केही कामबाट दुर्गा प्रसाईलाई एउटा अलग्गै शक्तिकेन्द्रमा रुपमा स्थापित गरिसकेको छ । दुर्गा प्रसाईको प्रर्दशन देखि प्रचण्ड नेतृत्वको सरकार पुरै डराएको छ । यतिसम्मकी सडक आन्दोलन र प्रदर्शनबाट नै स्थापित अहिलेको गणतन्त्र र राजनितिक दलको सत्ताले त्यही सडक आन्दोलन गर्न प्रसाईलाई अवरोध गरिरहेको छ । सडकमा उभिएर आफ्ना कुरा राख्न पाउने र बिरोध प्रदर्शन गर्न पाउने गणतान्त्रिक राज्यको मूल मर्ममाथी नै प्रचण्ड सरकारले घात गरेको छ । त्यसमा सत्ता गणबन्धनका दल र बिपक्षी दलको समेत सरकारलाई स्पष्ट साथ र समर्थन रहेको देखिन्छ ।
युट्यूबमा तथ्यहिन बिषयमा चर्को कुरा गरिरहेको देखिने दुर्गा प्रसाईलाई बलियो शक्ति केन्द्रका रुपमा स्थापित गर्न प्रचण्ड सरकारसंगै नेकपा एमालेको युवा संगठन युवा संघको सबैभन्दा गतिलो भुमिका छ । दुर्गा प्रसाईले गणतन्त्र नै फाल्छ भने जस्तो गरी युवा संघले प्रसाईलाई देशव्यापी रुपमा अवरोध गर्न जब शुरु गर्यो तब प्रसाईप्रति आम मानिसको चासो बढ्यो र उनले उठाएको केही बिषयमा मानिस आकर्षित हुन पुगे । खास गरी युवा संघले काठमाण्डौमा दुर्गा प्रसाईलाई कालो मोसो दल्नु, एमाले नेता महेश बस्नेतले जुनसुकै कार्यक्रममा बोल्दा बिषयको केन्द्रमा प्रसाई नै हुनु र एकोहोरो रुपमा प्रसाई बिरुद्ध बिष बमन गर्नु, प्रसाईलाई इलामको कार्यक्रममा जान अवरोध गर्नुले पनि थाहा नपाई प्रसाई नेपाली राजनितिको मात्रै होईन चाहेर वा नचाहेर पनि आम नेपाली जनताको मस्तिष्कले स्मरण गर्ने नामका रुपमा स्थापित भयो ।
मंसिर ७ सन्धर्भलाई नियालेर हेर्ने हो भने राज्य शक्ति नै दुर्गा प्रसाईलाई नेपाली राजनितिको मियो बनाउन तिर लागेको देखिन्छ । राजतन्त्रले दबाएर पनि जनताको साथबाट स्थापित भएका राजनितिक दलले नै चलाएको सत्ताले हिजो आफु स्थापित भएको समयलाई स्मरण पनि गर्न सकेन वा चाहेन । तर हाम्रो नेपाली समाजको चरित्रका बारेमा राम्रोसंग हेक्का भएका भनिएका मुलधारका राजनितिक दलहरुले नै मंसिर ७ र दुर्गा प्रसाईलाई यसरी प्रचार गरिदिए कि मानौं प्रचण्ड नै गणतान्त्रिक नेपालको अन्तिम प्रधानमन्त्री बन्ने खतरा छ त्यही भएर दुर्गा प्रसाईलाई जसरी पनि रोक्नु पर्छ । जुन कुरा सामान्य रुपमा सोच्दा पनि गलत प्रमाणित हुन्छ ।
संख्या जत्रो भए पनि आम जनताको साथ पाएको आन्दोलनलाई राज्यले जति अवरोध गर्छ ढिलो चाँडो त्यो आन्दोलनले आकार ग्रहण गर्दै जान्छ भन्ने आफ्नै इतिहास अहिलेका सत्ताधारी र बिपक्षमा बसेका राजनितिक दलले स्मरण गरेनन वा गर्न चाहेनन । प्रसाईले महिना दिन पहिला नै घोषणा गरेको काठमाण्डौ केन्द्रीत प्रदर्शनलाई अवरोध गर्न केही दिन अघि युवा संघले पनि सोही दिन प्रदर्शन गर्ने घोषणा गर्नुले प्रसाई तिर थप आम मान्छेको ध्यान केन्द्रीत भएको छ ।
गणतन्त्र प्राप्ती पछि पनि आम नेपालीकाे जीवन कष्टकर बन्दै गए पछि भने नेपाली राजनितिका मुलधारका दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी र मधेश केन्द्रीत दलहरु प्रति आम नेपाली जनताको बितृष्णा बढिरहेको अवस्थामा लघुबित्तबाट पीडित, सहकारीबाट ठगिएकाहरु, सरकारी कर्मचारीको हेपाइमा परेका, सरकारी पक्षले संरक्षण गरेका ठेकेदारबाट शोषणमा परेका र अन्य थुप्रै कारणले दैनिक जीवन कष्टकर बन्दै गएका ठुलो संख्यामा आम नागरिक यतिबेला दुर्गा प्रसाई तिर जान राज्य सत्ता र राजनितिक दलले नै बाध्य पारेको देखिन्छ ।
ठोस एजेण्डा बिनाको भड्काउ कुरा गर्ने प्रसाई सर्बजनिक रुपमा चर्को र मिथ्या कुरा गरेरै हिरो भइरहेका छन । त्यसमा आम नेपालीको बिश्लेषण क्षमताको कमजोरी त छदैंछ त्यस भन्दा पनि बढी अहिलेको प्रचण्ड नेतृत्वको सरकार र मुलधारका राजनितिक दलहरु जिम्मेवार छन । मंसिर ७ लाई केन्द्रमा राखेर सरकारले गरेका सबै निर्णय फिर्ता लिएर दुर्गा प्रसाईको प्रर्दशनलाई सामान्य रुपमा आयोजना गर्न दिनु अहिलेको राज्यसत्ता र यो व्यवस्थाको पक्षमा हुन्छ ।