झापा, कार्तिक २७ । नेपाली काँग्रेस झापा क्षेत्र नं. १ को महासमिति सदस्य चयनका लागि कार्तिक २३ मतदान सम्पन्न भयो । क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ६०७ जना मतदाता रहेको उक्त निर्वाचनमा ५६१ जनाले मतदान गरेका थिए ।
मतदान सकिएर जब मतगणनाका लागि मतपेटिका खोलियो तब मतपत्रसंगै केही अन्य कागज पनि भेटिए । दुई वटा मतपेटिका प्रयोग भएको निर्वाचनमा दुवै मतपेटिका भित्र त्यस्ता कागज भेटिएको निर्वाचन समितिले जनाएको छ । दर्जन भन्दा बढीको संख्यामा भेटिएका ति कागजका चिर्कटोमा काँग्रेस कार्यकर्ताले निर्वाचित हुने महासमिति सदस्यहरुलाई बधाईसंगै पार्टी नेतृत्व बिरुद्ध बिद्रोह पनि बोलेका थिए ।
सबै चिर्कटोमा एउटै कुरा लेखेर मतपत्रसंगै काँग्रेस कार्यकर्ताले मतपेटिकामा हालेको चिर्कटो कम्प्युटर प्रिन्ट गरिएको थियो । ति चिर्कटोमा लेखिएको थियो ‘विधान बिपरीत बनेको जिल्ला समिति खारेज गर ।, सिन्डिगेट र गुटबन्दी प्रथाको अन्त्य गर, बिधान बिपरीत काम गर्ने जिल्ला समिति होसियार, यो कर्मेका सम्पूर्ण मतियारहरु मुर्दाबाद र हाम्रो अभियान जारी छ ।’ मतपत्रसंगै भेटिएका ति बेनामे चिर्कटोमा उल्लेख भएका बिषय हेर्दा काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु आफ्ना नेतृत्वसंग असन्तुष्टि रहेको बुझिन्छ ।
उनीहरुले बिधान बिपरीत काम गरेको बिषयमा चुप बस्ने महासमिति सदस्यहरु महासमिति बैठकमा सहभागि हुन नैतिक रुपमा नमिल्ने पनि उल्लेख गरेका छन । महासमिति बैठकमा जानु अघि झापा जिल्ला समितिलाई खारेज गर्न दबाब दिनु पर्ने समेत चिर्कटोमा उल्लेख गरेका छन । असन्तुष्ट कार्यकर्ताहरुले समूहगत रुपमा नै सल्लाहा गरेर मतपत्र भित्र त्यो चिर्कटो हालेको हुन सक्ने अनुमान गरिएको भए पनि कसको नेतृत्वमा त्यो काम भयो र त्यसमा को को सहभागि थिए भन्ने अहिलेसम्म खुल्न नसकेको काँग्रेसस्रोतले जनाएको छ ।
झापा १ बाट बिमल आचार्य, राम कट्टेल, केशवराज पाण्डे, अशोककुमार पोखरेल, मणिकुमार उप्रेती, उषा गुरुङ, दुर्गा खतिवडा, प्रेम सम्बाहाम्फे, तेजप्रसाद चौलागाई, र चन्द्रकला भट्टराई विजयी हुनु भएको थियो भने डम्बरकुमारी थापा महासमिति सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।