झापा, कार्तिक २६ । आजदेखि दुधको बिक्रि मुल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । बजारमा दुध बिक्न छोडेपछि डेरी उद्योग संघ कोशी प्रदेशले दुधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । दुधको उत्पादनमा बृद्धि र डेरी उत्पादन खपतमा कमी आए पछि ठुलो मात्रामा दुध भण्डारणमा रहने अवस्था भए पछि दुधको बिक्रि मुल्य घटाएको डेरी उद्योग संघ कोशीका संयोजक रामचन्द्र उप्रेतीले रेडियो मन्त्रलाई जानकारी दिनुभयो ।
कोशी प्रदेशका ८ वटा ठूला डेरी उद्योगहरु आबद्ध संघको बैठकले किसानले उत्पादन गरेको दुधको बजार सुनिश्चित गर्न भन्दै दुधको मुल्य घटाएको संयोजक उप्रेतीले बताउनुभयो । मिल्क होलिडे गर्दा किसानलाई झन समस्या हुने भएकाले मुल्य घटाएर भए पनि बिक्रि गर्नु पर्ने भन्दै आजदेखि नयाँ मुल्यमा दुध बिक्रि हुने उप्रेतीले बताउनुभयो । घटेको मूल्य अनुसार अब उपभोक्ताले स्ट्याण्डर दुध आधा लिटरको पोका ४५ रुपैयाँमा पाउनेछन । यसअघि यस्तो पोकालाई ५० रुपैयाँ पर्थ्यो । संघले फ्याट मिल्क आधा लिटरको ३५, दही २०० मिलिलिटरको ३५, आधा लिटरको दही ८०, एक लिटर दहीको १५०, पनिरको प्रतिकेजी ७८० र नौनी घ्यू प्रतिकेजी ८०० रुपैयाँमा बिक्री गर्ने समेत निर्णय गरेको छ ।
कोशी प्रदेशमा दुधको उत्पादन १० देखि १५ प्रतिशतसम्म बृद्धि भएको र डेरी उत्पादनको खपतमा १० देखि १२ प्रतिशतसम्म कमी आएका कारण दुधको भण्डारण बढी भएको संघका संयोजक उप्रेतीले बताउनुभयो ।
डेरी उद्योग संघ कोशी प्रदेस समितिमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास सहकारी संस्था लि, रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज प्रालि, गोरस डेरी प्रालि, जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रालि आबद्ध छन ।