झापा, कार्तिक २४ । अहिले विश्व खेलजगतको आँखा भारतमा चलिरहेको तेह्रौं संस्करणको विश्वकप क्रिकेट प्रतियोगिमा छ । यसबाट हामी नेपाली खेलप्रेमीहरु पनि अछुतो पक्कै छैनौ होला जसलाई क्रिकेटमा रुचि छ । अझ नेपाली खेल जगतबाट विश्व स्तरमा उदाईरहेको एक मात्र खेल भने पनि हुन्छ क्रिकेटलाई । नेपाली क्रिकेट टिमका पछिल्लो विश्व स्तरमा भएका उत्कृष्ट प्रदर्शनले यसमा रुचि नभएकाहरुको पनि ध्यान खिचिरहेको छ । हाल चलिरहेको विश्व संस्करणमा नेपालको सहभागिता नभए पनि आगामी वर्ष अर्थात सन २०२४ मा हुने टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुने निश्चित भइसकेको छ । पक्कै पनि यहाँहरु सबै सर्वविदितै हुनुहुन्छ हालै नेपालमा सम्पन्न उक्त प्रतियोगिताको एसिया छनौटको फाईनल प्रवेश सँगै नेपालको सो प्रतियोगिता खेल्ने निश्चित भएको हो ।
सन २०२४ जुन ४ देखि २२ अर्थात आगामी वर्षको जेठ २२ देखि असार ८ सम्म संयुक्तरुपमा अमेरिका र वेस्टइन्डिजले आयोजना गर्ने बीस बीस ओभरको विश्व स्तरिय क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुनेछ । दस वर्ष अघि सन २०१४ मा यसै प्रतियोगितामा सहभागी भईसकेको नेपालको यो दोस्रो सहभागीता रहनेछ जुन प्रतियोगितामा विश्वका २० राष्ट्रले सहभागिता जनाउनेछन ।
सहभागी हुने २० राष्ट्र मध्ये एसिया छनौटबाट नेपाल सँगै ओमनले पनि आफ्नो स्थान सुरक्षित गर्दा जम्मा १८ राष्ट्रको टुंगो लागिसकेको छ । अब अफ्रिकी छनौट बाट २ राष्ट्रले यस प्रतियोगितामा आफ्नो स्थान पक्का गर्नेछन । यसका लागि यहि नोभेम्वर २२ देखि ३० सम्म नामिवियामा अफ्रिकाका ८ राष्ट्र एकआपस भिड्दैछन र उक्त भिडन्तबाट उत्कृष्ट २ राष्ट्रले विश्वकपको यात्रा तय गर्नेछन । अफ्रिकी २ राष्ट्रको टुंगो लागि नसकेको भए पनि विश्व क्रिकेटको छाता संगठन आईसिसिले उक्त प्रतियोगिताको लागि सहभागी राष्ट्रहरुको समूह विभाजन गरिसकेकोछ ।
२० राष्ट्रलाई ४ वटा समुहमा विभाजन गरि सार्वजनिक गरिएको समुह बि मा नेपाल परेको छ । उक्त समुहमा नेपाल सँगै विश्व क्रिकेटका नामी राष्ट्रहरु भारत, पाकिस्तान र वेष्टईन्डिजका साथै अफ्रिकी छनौटबाट दोस्रो स्थानमा रहेर छनौट हुने एक राष्ट्र रहेकाछन । स्मरणीय के छ भने केही अगाडि सम्पन्न एसिया कपमा पनि नेपालसँग एउटै समुहमा प्रतिद्वन्द्वीका रुपमा भारत र पाकिस्तान रहेका थिए ।
यस्तै समूह ए मा आयोजक अमेरिका सँग दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्डस र ओमन रहेकाछन भने समूह सि मा ईङ्लेण्ड, अष्ट्रेलिया, आयरल्यान्ड र पपुव न्यु गिनि सँगै अफ्रिकी छनौटबाट प्रथम हुने एक राष्ट्र रहनेछ ।
यसैगरि अन्तिम समूह डि मा न्यिजिलेण्ड, श्रीलंका, अफ्गानिस्तान, क्यानडा र स्कटल्याण्ड रहेकाछन ।
यसरी प्रत्येक समुहमा ५ राष्ट्र रहेकाछन र समुहमा एक अर्कामा यी राष्ट्रहरुले भिडन्त गर्नेछन र समुहमा उत्कृष्ट हुने २ राष्ट्र अर्को चरणको उत्कृष्ट ८ मा प्रवेश गर्नेछन जहाँ ८ राष्ट्रलाई फेरि दुई समुहमा विभाजन गरि प्रतियोगिता गराईनेछ जहाँबाट ४ राष्ट्रले सेमिफाइनलको यात्रा तय गर्दै फाईनल तर्फ लाग्नेछन ।