झापा, कार्तिक १९ । नेपाली काँग्रेस झापाले महासमिति सदस्य चयनका लागि कार्तिक २२ गतेलाई निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ जनाका दरले झापाका ५ निर्वाचन क्षेत्रबाट ५५ जना महासमिति सदस्य चयन हुँदैछन । सर्बसम्मत नभए मतदानको प्रक्रियाबाट महासमिति चयनका लागि काँग्रेस झापाले सबै क्षेत्रमा निर्वाचन समिति संयोजक तोकिसकेको छ । सम्बन्धीत क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरुले मतदान मार्फत महासमिति सदस्य छनौट हुनेछन । यसैबिच झापा क्षेत्र नं. १ मा महासमिति सदस्यको चुनावको सरगर्मि केही दिन अघिदेखि नै शुरु भएको छ ।
उम्मेद्वारहरु मतदाता क्षेत्रीय प्रतिनिधिहरुलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै घरदैलो गरिरहेका छन । अहिलेको उम्मेद्वारका आकाँक्षी र क्षेत्रमा देखिएको चुनावी सरगर्मी हेर्दा झापा १ मा काँग्रेसले महासमिति सदस्य चयनका लागि सर्बसम्मत गर्ने सम्भावना निक्कै कम छ । मतदानबाट नै महासमिति चयन हुने अवस्था भएकाले पनि उम्मेद्वारका आकाँक्षीहरु चुनावी मैदानमा होमिएका छन ।
झापा १ मा ५ जना निर्वाचित हुने खुल्ला सदस्यका लागि ९ जना आकाँक्षी देखिएका छन । काँग्रेस नेताहरु राम कट्टेल, विमल आचार्य, केशबराज पाण्डे, खड्ग बहादुर धिमाल, लोकराज ढकाल, पंकजबिक्रम नेम्वाङ, अशोककुमार पोखरेल, मणिकुमार उप्रेती र पुष्पराज पौडेल महासमिति सदस्यका उम्मेद्वारका रुपमा क्षेत्रीय प्रतिनिधिहरुसंग मत मागिरहेका छन । त्यस्तै २ जना निर्वाचित हुने खुल्ला महिला सदस्यका लागि ३ जनाले उम्मेद्वार हुने आकाँक्षा देखाएका छन । महिला नेताहरु उषा गुरुङ, शोभा श्रेष्ठ नेम्वाङ र दुर्गा देवी खतिवडा महासमिति सदस्यको चुनावी मैदानमा छन ।
एक महिला सहित दुई जना निर्वाचित हुने खसआर्य तर्फको महासमिति सदस्यमा तेजप्रसाद चौलागाई, रोेहित बुढाथोकी, चन्द्रकला भट्टराई, शुशिला रिजाल र टिका सुवेदी उम्मेद्वार घोषणा गरेर मत मागिरहेका छन । त्यस्तै एक महिला सहित दुई जना निर्वाचित हुने आदिवासी जनजाती तर्फ प्रेम सम्बाहाम्फे, बालाजित राई र डम्बरकुमारी थापा चुनावी मैदानमा हुनुहुन्छ ।
महाधिवेशन प्रतिनिधिहरुले मात्रै उम्मेद्वार हुन पाउने काँग्रेसको महासमिति सदस्य चयनका लागि झापा १ का ६ सय २० जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन ।