कार्तिक १७,झापा । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकीसहित १० जनालाई अदालतले दोषी ठहर गरेको छ । बिहिवार विशेष अदालतले फैसला सुनाउँदै ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले फैसला सुनाउदै तीन महिना कैद र दश हजार रुपैयाँ जरिवानाको सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर काकीले जानकारी दिनुभयो ।
अध्यक्ष साह, पूर्वउपाध्यक्ष बुढाथोकी संगै वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेश , इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईं तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । त्यस्तै भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी लाईपनि अदालतले दोषी ठहर गरेको छ ।
लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार ९६४ रुपैयाँ जरिवाना भएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रस्ट मिलेमतो नदेखिएको अदालतले सफाइ दिएको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो । २२ लाख ८२३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेषले फैसला सुनाएको हो ।