अमेरिका,कार्तिक १४ । नेपाली कांग्रेसका महामन्त्रि विश्वप्रकाश शर्माले नेपालको व्यवस्थामा परिमार्जन गर्न अवस्थामा परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको नेपालको आजको अवस्था र अबको बाटो विषयक सर्वपक्षीय अन्तरक्रियामा महामन्त्री शर्माले नेपालमा हाल रहेको राजनीतिक व्यवस्थापमा परिमार्जन र अवस्थामा परिवर्तनका लागि सबैको साझा प्रयास र मेहनतको खाँचो रहेकोमा जोड दिनुभएको हो । विदेशमा रहेका नेपालीलाई तत्कालु नेपाल फर्क भनिहाल्ने अवस्था नरहेको भन्दै उहाँले यदि कसैले त्यस्तो भन्छ भने त्यो भावनात्मक र सस्तो लोकप्रियताको कुरामात्रै हुने बिचार राख्नुभएको छ ।
नेपालमा तत्काल अनिवार्य जनशक्तिबाहेकलाई बाह्य व्यवस्थापन गर्नुपर्ने बाध्यतात्मक परिस्थिति रहेको भन्दै महामन्त्री शर्माले अहिलेको प्राथमिकता जलविद्युत् उत्पादनमा वृद्धि र वैदेशिक रोजगारको मर्यादा अभिवृद्धि रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले देशमा लगानी गर्ने वातावरण बनाउन र गैरआवासीय नागरिकहरुलाई लगानीका लागि प्रेरित गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा सोसलिस्ट इन्टरनेशनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष खगेन्द्र जिसि, एनआरएन न्युयोर्क अध्यक्ष हेमन्त मल्ल ,एमाले निकट प्रवासी मंचका अध्यक्ष कृष्ण लामिछाने,माओवादी पार्टी निकट प्रवासी मंच अमेरिका–क्यानाडा प्रमुख याम लामा ,आदिवासी जनजाती महासंघका अध्यक्ष टोमा लामा लगायतले मन्तव्य राख्नुभएको थियो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मुनिन्द्र नेम्वाङले गर्नुभएको थियो ।
कार्यक्रममा वर्तमान नेपालको राजनैतिक, आर्थिक, सामाजिक लगायतका विविध विषयहरुमा केन्द्रित रहेर छलफल भएको थियो । अमेरिकामा रहेका विभिन्न राजनीतिक दलका भ्रातृ संस्था र शुभेच्छुकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।