झापा, कार्तिक ६ । गजलकार जीवन धितालको गजल ‘तिम्रा केशराशि’ सार्वजनिक भएको छ । शनिवार मेचीनगर ८ स्थीत आदर्श मावि स्रोत केन्द्र भवनमा आयोजित एक कार्यक्रमका बीच गजलको म्यूजिक भिडियो विमोचन गरिएको हो ।
वरिष्ठ संगितकार जीवन अधिकारीले म्यूजिक भिडियोको विमोचन गर्नु भएको थियो । विमोचन समारोहमा सिद्धहस्त सांगितिक तथा साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
विमोचन समारोहमा शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष तथा नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका उपाध्यक्ष पुण्य सुवेदी, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पत्रकार मुक्ति पौडेल, शनिश्चरे माविका प्रअ विनोदकुमार गौतम, नेपाल शिक्षक महासंघ झापाका सचिव तथा शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल भास्करले शुभकामना मन्तब्य राखेका थिए ।
त्यस्तै वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, वरिष्ठ संगित प्रशिक्षक कृष्ण योञ्जन, साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, प्रमुख अतिथि अधिकारीलगायतले शुभकामना मन्तब्य राख्दै गायक धितालको व्यक्तिगत जीवनको चर्चा एवम् गायकीको प्रशंसा गरेका थिए ।
शनिश्चरे मावि अर्जुनधारा झापामा विज्ञान शिक्षकको रुपमा कार्यरत धिताल साहित्य चौतारी झापाका सदस्यसमेत हुनुहुन्छ ।
सोही अवसरमा गजलकार तथा सुर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता दिलीप घिमिरे, क्षितिज साहित्य प्रतिष्ठानका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देल, आदर्श माविकी शिक्षक प्रतिमा चापागाईं, साहित्य चौतारी झापाका उपाध्यक्ष कृष्ण सुवेदी निराकार, देवीभक्त श्रेष्ठ लगायतले साहित्यक तथा सांगितिक प्रस्तुति दिएका थिए ।
साहित्य चौतारी झापाको सह आयोजनामा सम्पन्न विमोचन समारोहमा गायक धितालका पुजनीय पिता गणेशप्रसाद धिताललाई सम्मान गरिएको थियो ।
जीआर धितालले सञ्चालन गरेको समारोहमा स्वागत तथा कार्यक्रम बारे गायक जीवन धितालले जानकारी गराउनु भएको थियो ।
गजलमा शब्द गायक धिताल आफैको रहेको छ भने संगित जीवन अधिकारीले गर्नु भएको छ । मोडल उर्मिला योञ्जनले अभिनय गर्नु भएको म्यूजिक भिडियोमा। भिडियोको छायांकन मेचीनगरका पर्यटकीय क्षेत्रमा गरिएको छ ।