झापा, असोज २६ । नेपाली काँग्रेसका कोशी प्रदेश सांसद समसेर राईले प्रदेशको मुख्यमन्त्री केदार कार्की नै हुने दाबी गर्नु भयो । संविधानको धारा १६८ को उपधारा ५ अनुसारको सरकार गठनमा प्रत्येक सांसद स्वतन्त्र भएर मुख्यमन्त्री छान्न पाउने अवस्था भएकाले काँग्रेस नेता केदार कार्कीसंग मात्रै बहुमत प्रदेशसभा सदस्य रहेकाले वहाँ नै मुख्यमन्त्री हुने सांसद राईले बताउनुभयो । ‘हामीले केदार कार्कीलाई नै मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका हौं,’ राईले भन्नुभयो, ‘तर हामीले अघिल्लो सरकार बनाउन गरेको हस्ताक्षरको दुरुपयोग गरी माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन प्रस्तुत गरेको थाहा पाइयो त्यस प्रति हाम्रो गम्भिर आपत्ती छ ।’
आङ्बोलाई मुख्यमन्त्री बनाउन आफुहरुको पुरानो हस्ताक्षर दुरुपयोग गरेको बिषयमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष उपस्थीत भएर लिखित जानकारी गराई सकेको राईले बताउनु भयो । सेतोपत्रसंग कुरा गर्दै इलाम क्षेत्र नं. १ (ख) बाट निर्वाचित काँग्रेस सांसद राईले भन्नुभयो, ‘मसहित नेपाली काँग्रेसका ८ जना सांसदले आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेकै छैन, हामीले आफ्नै पार्टीका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष भौतिक रुपमै उपस्थीत भएर हस्ताक्षर गरेका छौं ।’
आङ्बोले काँग्रेसका अधिकाशं सांसदको पुरानै हस्ताक्षर दुरुपयोग गरी मुख्यमन्त्रीका लागि दाबी पेश गरेको राईको जिकिर छ । काँग्रेसका अरु सांसदले पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर दुरुपयोग गरेको बिषयमा आपत्ती जनाईसक्नु भएको छ, राईले भन्नुभयो, ‘अब केदार कार्कीसंग मात्र बहुमत पुग्ने अवस्था भएकाले वहाँनै मुख्यमन्त्री बन्ने निश्चित छ ।’
कार्कीलाई मुख्यमन्त्री बनाउन काँग्रेसका राई समेत रामकुमार खत्री, इन्दिरा थापा, लिलाकुमारी राई, गोबिन्द गिरी, मान बहादुर लिम्बु र सुनिताकुमारी गुरूङले हस्ताक्षर गरेका छन भने नेकपा एमालेका ३९ सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुख खापुङलाई बुझाएका छन ।
संविधानको धारा १६८ (५) अनुसार प्रदेशसभामा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी सरकार बनाउँदा कुनै पनि सांसदलाई राजनितिक दलको ह्वीप लाग्दैन ।