भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा श्रीलंकामाथि पाकिस्तानले कीर्तिमानी जीत निकालेको छ । प्रतियोगितामा पाकिस्तानले लगातार दोस्रो जित निकाल्दा श्रीलंकाले भने लगातार दोस्रो हार व्यहोरेको छ । पाकिस्तानले हैदराबादमा भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो ।
३४५ रनको कठिन चुनौती पाकिस्तानले १० बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले १२१ बलमा अविजित रहँदै १३१ रन बनाए । त्यस्तै अब्दुल्लाह शफिकले १०३ बलमा ११३ रन बनाए । यसअघि श्रीलंकाले ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो । कुसल मेन्डिसले ७७ बलमा १२२ तथा सदीरा समराविकरामले ८९ बलमा १०८ रन बनाए । हसन अलीले ४ विकेट लिए ।
यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बन्दै गएको छ । पाकिस्तानले लगातार दुई खेल जितेको छ । श्रीलंकाको भने सेमिफाइनल यात्रा कमजोर बन्दै गएको छ । श्रीलंकाले लगातार दोस्रो खेल हारेको छ । पहिलो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकासँग कीर्तिमानी हार बेहोरेको थियो । विश्वकपकै सबैभन्दा बढी योगफल ४२८ रन श्रीलंकाले दक्षिण अफ्रिकालाई सुम्पेको थियो ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
अंक तालिका
२ खेलबाट ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । पाकिस्तान पनि २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
१ खेलबाट २ अंकसहित दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।
अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् ।