झापा, असोज १९ । बिहिबार बेलुका करीब साढे ६ बजे झापाका पत्रकारहरुको समूह बाहुनडाँगी बजार पुर्वको मेची किनारमा भेला भएका थिए । जिल्ला भरिका २० भन्दा बढी पत्रकार रातिको समयमा भारतबाट आउने जंगली हात्ती प्रवेश गर्ने गौंडामा नै भेला गराएर बाहुनडाँगीबासीले हात्तीबाट भएको क्षतिको पिडा सुनाइरहेका थिए ।
कयौं पटक हात्तीको पिडा सुनाउँदा पनि संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्यामा गम्भिर बन्न हात्ती आउने मुख्य गौंडामा नै पत्रकार सम्मेलन गर्नु परेको मेचीनगर ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीले पत्रकार सम्मेलनमा बताउनु भयो । ‘हामीले हात्तीबाट पीडित हुनु परेको पुस्तौं भयो,’ निष्पट्ट रातमा मेचीको किनारमा उभिएर कार्कीले भन्नुभयो, ‘स्थानीय सरकारले यहाँको क्षतीपुर्ति दिन सक्दैन, केन्द्र र प्रदेश सरकारले हाम्रो पीडा बुझ्नै चाहेन ।’ पत्रकार सम्मेलन चल्दैगर्दा भारतबाट हात्ती नेपाल प्र्रवेश गरेको सूचना आए पछि स्थानीयहरु विभिन्न आवाजको साइरन बजाउन र टर्च लाईटको सहयोगले हात्तीको गतिविधि नियाल्न थाल्नु भएको अवस्था निक्कै सकस पूर्ण थियो ।
‘हाम्रो त यो हरेक रातको काम भइसक्यो,’ नेपाल तर्फ गठन भएको हात्ती नियन्त्रण गर्न बनेको युवा दस्ता (आर.आर.टी) का संयोजक न्यूटन कार्कीले भन्नुभयो, ‘स्थानीयको बाली र जिवन जोगाउन हामी निशुल्क रुपमा हरेक रात १५/१६ जना हात्ती धपाउन मेची खोलामा तैनाथ हुन्छौं ।’ हात्ती छेक्न निर्माण गरिएको करीब १७ किलोमिटरको बिद्युतिय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वान्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताउनु भयो । ‘बिद्युतिय तारबारले पनि अब हात्ती छेक्न नसक्ने भइसक्यो,’ कार्कीले भन्नुभयो, ‘हात्ती धेरै बाठो जनावर हो, उसले आफ्नो दाराले तारबारलाई भत्काएर भित्र पस्ने गरेको छ ।’
दारामा करेन्ट लाग्दैन भन्ने हात्तीले थाहा पाइसकेकाले पनि अहिले हात्तीले दैनिक करीब २० हजार भन्दा बढीको बिद्युतिय तारबारमा हात्तीले क्षति पुर्याउन थालेको अध्यक्ष कार्कीले बताउनुभयो । बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भिर ध्यानाकर्षण नभएको मेचीनगर २ का वडाअध्यक्ष दिपक बरालले आरोप लगाउनु भयो ।
‘संघीय सरकार र प्रदेश सरकारको उपस्थीति हात्तीको क्षतीमा अलिक नजिकबाट हुनुपर्यो,’ वडाअध्यक्ष बरालले भन्नुभयो, ‘राहत पाउने व्यक्तिको नाम समेत आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको अवस्था छ ।’
हात्तीबाट हुने क्षतिको मुल्याकंन र त्यसमा पर्ने किसानका विभिन्न समस्यालाई सम्बोधन गर्न झापा क्षेत्र नं. १ का संघीय सांसद विश्वप्रकाश शर्माले बिषेश चासो राख्नु पर्ने हात्ती समस्यासंग लामो समयदेखि नजिक रहेर काम गरिरहनु भएका शंकर लुईटेलले बताउनु भयो ।