झापा,असोज १० । चीनको हाङ्जाओमा जारी एसियाली खेलकुद क्रिकेट च्याम्पियनसिपमा नेपालको पुरुष क्रिकेट टोलीले इतिहासमा आफ्नो नाम कोरेको छ ।
मंगोलिया बिरुद्धको खेलमा शानदार प्रर्दशन गर्दै नेपालले टि ट्वान्टी र्फमेटको क्रिकेटका धेरै किर्तिमान भंग गर्दै आफनो नाममा लेखाउन सफल भएको छ । मंगोलियाविरुद्धको खेलबाट नेपाल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय भन्दा बढी रन बनाउने पहिलो पुरुष टोली बनेको छ । यसअघि कुनै टोलीले टि ट्वान्टीमा ३ सय रन बनाएको रेकर्ड छैन ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको छ । यो रन टी–ट्वेन्टी खेलमा नयाँ विश्वकीर्तिमान हो । यसअघि सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध र चेक रिपब्लिकले टर्कीविरुद्ध बनाएको समान २७८ रनको कीर्तिमान नेपालले तोडेको हो ।
यस्तै मंगोलियाविरद्धको खेलमा नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । ३१४ रन बनाउने क्रममा नेपालको रन रेट १५.७ रह्यो । यसअघि २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८ बनाउने क्रममा कायम गरेको १३.९ को रन रेटको किर्तिमान नेपालले भंग गरेको छ ।
यहि खेलबाट सर्वाधिक छक्काको किर्तिमान पनि नेपालको नाममा दर्ज भएको छ । ३१४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का हानेर नयाँ कीर्तिमान बनाएका हुन । यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा रहेको थियो । २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का प्रहार गरेका थिए । मंगोलिया बिरुद्धको यहि खेलबाट कुशल मल्लले पनि विश्व किर्तिमान बनाउनुभएको छ । दक्षिण अफ्रिकाका डेभिड मिलरको रेकर्ड तोड्दै मल्लले ३४ बलमा शतक प्रहार गरेर नयाँ रेकर्ड बनाउनुभएको हो । मिलरले २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएको रेकर्ड रहेको थियो ।

मंगोलियाविरुद्ध भएको खेलका क्रममा दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान र हाइएस्ट स्ट्राइक रेटमा नयाँ किर्तिमान बनाउनुभएको छ । मात्र ९ बलमा अर्धशतक बनाएउनुभएका उहाँको स्ट्राइक रेट ५२०.०० रहेको थियो । यसअघि सबभन्दा कम बलमा ५० रन बनाउने रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । उहाँले २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा अर्धशतक बनाउनुभएको थियो । हाइएस्ट स्ट्राइक रेटको रेकर्ड भने यसअघि वेष्ट इण्डिजका डवेन स्मिथको नाममा रहेको थियो । २००७ मा बंगलादेशविरुद्ध मात्र ७ बलमा २९ रन बनाएका स्मिथको स्ट्राइक रेट ४१४.२८ रहेको थियो ।
त्यस्तै नेपालले मंगोलियालाई २७३ रनले हराएको छ । टी–२० मा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले पराजित गरेको रेर्कड रहेको थियो ।