प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा कार्यरत ७६ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले बालुवाटार संक्रमणको घेरामा परेको छ ।
हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रधानमन्त्री ओलीका ४ सल्लाहकार सहित ७६ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।
अधिकांश संक्रमीत बालुवाटारमा कार्यरत सुरक्षाकर्मी रहेका छन् ।
संक्रमीत मध्य नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १७ जना र सशस्त्र प्रहरीका १८ जना रहेका छन् । त्यस्तै, केही ड्राइभर र बालुवाटारका केही उच्च पदस्थ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बालुवाटार स्रोतका अनुसार शुक्रबार स्वाब दिएका अझै केहि कर्मचारीको रिपोर्ट आउन बाँकी नै रहेको छ ।
हिजो संक्रमण पुष्टि भए लग्तै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले सामाजिक संजालमार्फत आफूहरु संक्रमित भएको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको कोरोना परीक्षण भएको रकोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ भने अन्य स्रोतले भने ओलीको कोरोना परीक्षण नै नभएको बताउदै आएका छन् ।
उता, बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्री ओलीको पनि पुन कोरोना परीक्षण गरिने बताइएको छ भने अन्य संक्रमीतको सम्पर्कमा रहेकाहरुको पनि कन्ट्याक्ट ट्रेसिङ सुरु गरेको बताइएको छ ।
यस अघि प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
उता, आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पनिअनिश्चित भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।
यस अघि हिजो नेकपाले साँझ ४ बजेलाई सचिवालय बैठक बोलाएको थियो ।