झापा, २२ भदौ । काङ्ग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले चुनावी गठबन्धनको शृङ्खला सदाका लागि समाप्त भएको बताएकी छन् । चुनावी गठबन्धन गरेर पार्टीले गम्भीर गल्ती गरेको र उप्रान्त चुनाव अघि गठबन्धन गर्न नहुने स्वर पार्टी भित्र चर्को बनिरहेको बेला सहमहामन्त्री उपाध्यायले यस्तो सार्वजनिक अभिव्यक्ति दिएकी हुन् ।
" चुनावी गठबन्धन अब हुँदैन " शुक्रबार नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर १ प्रदेश क्षेत्र "ख" सम्मेलनलाई धाइजनमा सम्बोधन गर्दै उनले भनिन्," अबको मिसन काङ्ग्रेसलाई बहुमतमा पुर्याउने हो, शृङ्खला नै समाप्त भएको चुनावी गठबन्धन असान्दर्भिक ठहर भइसक्यो, कुरै नगरौँ।"
काङ्ग्रेसले चुनावमा हात दिएकै कारण माओवादीको साख जोगिएको उनको निष्कर्ष छ।उनले प्रश्न गरिन्," काङ्ग्रेसले दर्बिलो साथ दिएर नसमातेको भए अहिले माओवादी कहाँ पुग्थ्यो ?" कार्यकर्ताको निरासालाई आफूले नजिकबाट नियाली रहेको उल्लेख गरेकी उनले नयाँ पार्टीसँग आत्तिनु पर्ने आवश्यकता नै नरहेको स्पष्ट पारिन्।
"हिजो बाटामा हिड्दा जयनेपाल भनेको आवाज सुन्दा मात्रै पनि गर्वले छात्ती चौडा हुन्थ्यो, सबै हाम्रा हुन् भन्ने लाग्थ्यो" उनले भनिन्," आज कसको मान्छे र कुन गुटको भन्ने घटिया चेत हावी भएको छ, अरुका कारणले होइन, हाम्रै कारणले काङ्ग्रेस कमजोर भएको हो।" सहमहामन्त्री उपाध्यायले आफूले आफैँलाई सक्ने काम बन्द गर्न नेताकार्यकर्तालाई सुझाइन्।
" चोकमा बसेर हामी आफैँ काङ्ग्रेस सकियो भनेर भन्छौँ, यो त्यागौँ" उनले भनिन्, " काङ्ग्रेसलाई कसैले सक्दैन, अरुलाई दोष दिनु हुँदैन, काङ्ग्रेसलाई दह्रो बनाउन हामी आफैँ सच्चिनुको विकल्प छैन।" उनले काङ्ग्रेसलाई चाहेर पनि अरुले कमजोर बनाउन नसक्ने दाबी गरिन्।
सहमहामन्त्री उपाध्यायले सकारात्मक सोच र सन्देशका साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह समेत गरिन्। उनले नेताकार्यकर्तालाई आत्मबल दह्रो बनाएर काममा लाग्न निर्देशन समेत दिइन् ।
पार्टी सभापति शेरबहादुर देउवाको बेजोड बचाउ गरेकी उपाध्यायले आफूसँग गुह्य रुपमा सभापतिले कुनै अधिकार नराखेको जिकिर गरिन्। उनले भनिन्," सभापतिले सबै जिम्मेवारी केन्द्रीय समितिलाई नै दिनु भएको छ, आफूसँग केही राख्नु भएको छैन।" केन्द्रीय समितिको बैठकमा कसैलाई निलम्बन गर्ने प्रस्ताव नआएको उनले स्पष्ट पारिन् ।
" सबैलाई थाहा छ, केन्द्रीय समितिको बैठक प्रत्यक्ष लाइभ थियो " उनले भनिन्," बैठकमा कसैलाई निलम्बन गर्ने प्रस्ताव आएको थिएन, दिगभ्रमित गर्ने र पार्ने काम कसैले नगरौँ।" उनले बैठकका सबै कुरा लाइभ र लिखित भएकाले भ्रममा पर्नु पर्ने कुनै कारण न नरहेको दोहोर्याइन्।
वडा समितिलाई पार्टीको मुहान र केन्द्रलाई समुद्रको संज्ञा दिएकी उनले वडा नेतृत्व सफा भए पार्टी नेतृत्व हरदम सफा हुने घुमाउरो तर्क गरिन्। कार्यक्रममा प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेश केन्द्रीय समितिका गरी १२ जना वक्ताले आआफ्ना धारणा राखेका थिए।
प्रदेश क्षेत्र ख सभापति सन्तोष न्यौपानेको अध्यक्षता , स्वागत उपसभापति मोहन लिम्बु , सञ्चालन सचिव प्रमोद खतिवडा गरेको कार्यक्रममा केन्द्रीय सदस्यद्वय सुशीला ढकाल, गोमा भट्टराई, कोशी प्रदेश सदस्य विमल आचार्य, काङ्ग्रेस झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे, क्षेत्रीय इन्द्र बुढाथोकी, महाधिवेशन प्रतिनिधि राम कट्टेल र प्रेम सम्बाहाम्फेले बोलेका थिए।