झापा, भदौ १८ । मेचीनगर १० स्थीत धुलाबारी क्याम्पसले इन्जिनियरिङ अध्यापन गराउने अनुमति पाएको छ । क्याम्पसले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अब धुलाबारी क्याम्पसले सिभिल इन्जिनियरिङको चार बर्षे कोर्ष सञ्चालन गर्न अनुमति पाएको जानकारी दिइएको छ ।
‘अब धुलाबारी क्याम्पसले चार बर्षे सिभिल इन्जिनियरिङ अध्ययन गराउने अनुमति पायो,’ पत्रकार सम्मेलनमा इन्जिनियरिङ परिषदको पत्र देखाउँदै क्याम्पस प्रमुख पुष्पराज पौडेलले भन्नुभयो, ‘पुर्वाञ्चल विश्व बिद्यालयले गतबर्षको भदौमा नै इन्जिनियरिङ अध्ययनका लागि सम्बन्धन दिइसकेको छ ।’ देशभरमै सामुदायिक क्याम्पसले सिभिल इन्जिनियरिङको स्नातक तहका अध्ययन गराउने धुलाबारी क्याम्पस नै पहिलो भएको पौडेलले दाबी गर्नु भयो ।
विश्व बिद्यालयले २०७९ भदौ ३१ गते सम्बन्धन दिएको भए पनि नेपाल इन्जिनियरिङ परिषदले मान्यता नदिएका कारण गत बर्ष इन्जिनियरिङ अध्ययन गराउन नसकेको भए पनि परिषदले २०८० भदौ १५ गते मान्यता दिएको पत्र क्याम्पसलाई प्राप्त भएको क्याम्पस प्रमुख पौडेलले बताउनु भयो ।
चार जना छात्रबृत्ति सहित जम्मा ४८ जना बार्षिक रुपमा अध्ययन गराउन पाउने गरी अनुमति पाएको पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । छात्रबृत्तिका लागि विश्वविद्यालयले नै छनौट गरेर पठाउने भएकाले ४४ जना क्याम्पसले भर्ना गराउन पाउने व्यवस्था रहेको पौडेलले जानकारी दिनु भयो ।
एक जना विद्यार्थीले चार बर्षको जम्मा ६ लाख ५० हजार शुल्क बुझाउनु पर्ने कार्यक्रम निर्देशक रुद्र मैनालीले बताउनु भयो । ‘यति शुल्क बुझाए पछि अरु कुनै पनि शुल्क क्याम्पसलाई तिर्नु पर्दैन,’ मैनालीले भन्नुभयो, ‘परीक्षा, सम्बन्धन र रजिष्ट्रेशन बापतका सबै शुल्क ६ लाख ५० हजारमा नै समेटेका छौं ।’ त्यो शुल्कलाई चार बर्षमा तिरिसक्ने गरी क्याम्पसले किस्तामा तिर्न पाउने व्यवस्थापन गर्ने मैनालीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । हाम्रो देशमा सिभिल इन्जिनियरको धेरै नै सम्भावना भएकाले पनि हामीले सिभिल रोजेको मैनालीले प्रष्ट पार्नु भयो । ‘हामीसंग सिभिललाई चाहिने सबैखालका ल्याब व्यवस्थाथित छन, दक्ष प्राविधिक जनशक्ती अध्यापन गराउन तयार छ,’ मैनालीले भन्नुभयो, ‘अब विद्यार्थी आएर अध्ययन गर्न मात्र बाँकी छ ।’
आगामी असोज ६ गते भित्रमा भर्नाका लागि फारम भरिसक्नु पर्ने भएकाले चार बर्षे सिभिल इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्याथीहरुले तत्काल धुलाबारी क्याम्पसमा सम्पर्क गर्न क्याम्पसका अध्यक्ष भिम खवासले आव्हान गर्नु भयो । निरन्तरको लामो प्रयास पछि धुलाबारी क्याम्पसलाई इन्जिनियरिङ क्याम्पसका रुपमा अगाडी बढाउन सकेको अध्यक्ष खवासले बताउनु भयो ।
विज्ञान बिषयमा कक्षा १२ उतिर्ण गरेका र डिप्लोमा इन इन्जिनियरिङमा गरेका विद्यार्थीहरुले चार बर्षे सिभिल इन्जिनियरिङ अध्ययन गर्न पाउने कार्यक्रम निर्देशक मैनालीले बताउनु भयो ।