झापा, भदौ १५ । मेचीनगर ९ स्थीत कविशिरोमणी माविका प्रधानाध्यापक कृष्ण अधिकारीलाई तत्काल हटाउन विद्यालयका अविभावकहरुले माग गरेका छन । विद्यालयको शैक्षिक गुणस्तर अत्यन्तै बिग्रिएको भन्दै अविभावकले आज व्यवस्थापन समितिलाई ज्ञापन पत्र बुझाउँदै प्रधानाध्यापक अधिकारीले तत्काल राजिनामा दिएर मार्ग प्रसस्त गर्नु पर्ने माग गरेका हुन ।
विद्यालयका अविभावकहरु कपिल चापागाई, भुपेन्द्र पाठक, इन्द्र ढकाल, राजकुमार खड्का, झुलन रेग्मी सहित १०६ जनाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा विद्यालय सुधारका लागि १० बुँदे माग राखिएको छ । आज विहान विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण अब्बल रुपमा स्थापित विद्यालय अहिले आएर राजनीति तथा चरम गुटबन्दीका कारण भद्रगोल बनेको दाबी गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगिता थापालाई ज्ञापन पत्र बुझाएका हुन ।
आउँदो शैक्षीक सत्रदेखि भर्ना अभियानलाई व्यापक बनाई उत्कृष्ट शैक्षीक थलो बनाउनु पर्ने, विद्यालय नियमित अनुगमन गर्नु पर्ने, शिक्षक कर्मचारी बीचको गुटबन्दी अन्त्य गरिनु पर्ने, विद्यालय प्रशासन र अविभावक विचको सहकार्यलाई सुमधुर बनाईनु पर्ने, कक्षा कोठामा मोबाईल प्रतिबन्ध गरिनु पर्ने लगायतका अविभावकको १० बुँदे ज्ञापन पत्र बुझ्दै अध्यक्ष थापाले अविभावकहरुले उठाएका बिषय जायज भएको बताउनु भयो । वहाँले यस बिषयमा गम्भिरता पुर्वक छलफल गरी निकास खोज्ने प्रतिबद्धता जनाउनु भयो ।
‘मैले जेठ २६ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेको हो,’ अध्यक्ष थापाले सेतोपत्रसंग भन्नुभयो, ‘यो बिचमा समितिको बैठक ४ वटा, नगरप्रमुख सहितको सरोकारवालाको बैठक र विद्यालयको आन्तरिक बैठक समेत बसेर विद्यालय सुधारका प्रयास थालेका छौं ।’
विद्यालयको शैक्षीक गुणस्तर सुधारका लागि आफुले कठोर निर्णय पनि लिन सक्ने अध्यक्ष थापाले बताउनु भयो । ‘म अविभावककै बिचबाट अध्यक्ष भएको हुँ त्यसैले विद्यालयको शैक्षीक गुणस्तर सुधार गर्नु मेरो एक मात्र एजेण्डा हो,’ थापाले भन्नुभयो ।
विगतमा जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा रहेको कविशिरोमणी मावि अहिले कमजोर विद्यालयका रुपमा चिनिन्छ । विद्यालयका प्रधानाध्यापक अधिकारी र अन्य शिक्षकहरुको मिलेमतोमा आर्थिक हिनामिना देखि विद्यालय भित्र चरम लापरबाही भएको स्थानीय अविभावकहरुको आरोप छ ।
अविभावकले विद्यालयमा बुझाएको ज्ञापन पत्र ।