झापा, भदौ १३ । १६ औं एसिया कप क्रिकेट प्रतियोगिता आज शुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा पहिलो खेलका लागि नेपाल र आयोजक पाकिस्तानबीचको खेलबाट प्रतियोगिता उद्घाटन हुँदैछ । आजको खेल नेपाली समयअनुसार दिउँसो ३ः३० बजे शुरु हुनेछ । १५ औं बरियताको नेपालले शीर्ष स्थानमा रहेको पाकिस्तानसंगको प्रतिस्पर्धामा नेपाल जीतको खोजीमा हुनेछ ।
क्रिकेटलाई अनिश्चतताको खेलमा रुपमा चिनिन्छ । विश्व क्रिकेटमा थुप्रै पटक अप्रत्यासित नतिजा निस्किसकेको छ । यो खेलले कतिबेला कुन मोड लिन्छ भन्ने निश्चित हुँदैन ।
५० ओभरको खेलमा एक विकेट नढल्न पनि सक्छ र एकै ओभरका पाँच विकेट लिएको पनि रेकर्ड छ । न्यूजिल्याण्डका नेल वाग्नर, बंगलादेशका अल अमिन हुसेन र भारतीय खेलाडी अभिमन्यु मिथुनले पाँच विकेट लिएर रेकर्ड राखेका छन ।
त्यस्तै ब्याट्सम्यानले एकैओभरका ६ बलमा ६ ओटै छक्का हानेका रेकर्ड पनि छन । अनि छक्कासँगै नोबल र वाइडबल हुँदा एकै ओभरमा ४७ रन बनेको रकेर्ड छ ।
यसको मतलब खेलमा एकै ओभरमा कायापलट हुन सक्छ । भारत र पाकिस्तानका नजरमा नेपाली खेलाडीहरु कमजोर हुन सक्छन । तर हारको डर नभएका खेलाडीहरुले खुलेर खेलेको खण्डमा परिणाम आफ्नो पक्षमा नपार्लान भन्न सकिन्न ।
त्यसो त नेपाली टिम त्यही लयबाट नै अगाडि आएर एसिया कपमा छानिएको हो । भारतिय क्रिकेटलाई नजिकबाट नियालेका नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टि देसाईले नेपाली टिम सम्हाल्नु अघिसम्म नेपालले एक दिवसीय मान्यता पनि गुमाउने अवस्था रहेको थियो ।
तर जब मोन्टि आए तब नेपाली युवा खेलाडीहरु यसरी सशक्त भएर खेले कि विश्वकप लिग २ का पछिल्ला महत्वपूर्ण १२ खेलमा ११ खेल नेपालले जित्यो ।
जसका कारण नेपाल लिग २ मा तेस्रो स्थानमा रहन सफल भयो । त्यही आधारमा नेपालले एक दिवसीय मान्यतामात्र बचाएन विश्वकप छनोटमा सिधै क्वालिफायर खेल्ने अवसर पायो । वेष्ट इन्डिज र जिम्बाब्वेजस्ता टिमहरुसँग नेपालले स्मरणीय प्रदर्शन गर्यो र विश्व क्रिकेटमा नेपालको छाप छोड्यो ।
नेपालकै समूहमा रहेका भारत र पाकिस्तानले पनि नेपाललाई कमजोर आँकेर पक्कै खेल्ने छैनन । हुनत दुवै टिममा दिग्गज खेलाडीहरु छन । सबैका आफ्नै रेकर्ड छन । सबैमा खेल जिताउने क्षमता छ । तर जब मैदानमा पुगिन्छ विपक्षीलाई कमजोर आँकेर बेवास्ता गर्ने धेरै नटिक्न पनि सक्छ ।
नपत्याउने खोलाले बगाएका उदाहरण धेरै भएकाले पनि भारत र पाकिस्तानसमेत सजग भएर खेल्नेमा दुईमत नहोला । नेपाली युवा खेलाडीहरुमा कमी छ भने केबल अनुभवको मात्र हो । इतिहास हेर्ने हो भने पनि नेपालले उमेर समूहमा टेष्ट मान्यताप्राप्त राष्ट्रहरुलाई हराइसकेको छ ।
जोशले भरिएका एकसे एक खेलाडीमा जोकोही पनि जम्न सक्छ । प्रशिक्षक देसाईले खेलाडीहरुलाई आफ्नो भूमिका सम्झाएका हुन्छन । सोही अनुसार खेलाडीहरुले खेल्ने हुन ।
मोन्टिको अनुभवमा पनि खेलाडीहरुले खुलेर खेलिरहेका छन । रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा एकसे एक प्रतिभा छन । आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरीसँगै रोहितको ब्याटिङ तारिफयोग्य छ ।
गुल्सन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनको प्रभाव यसअघिका खेलहरुमा परिसकेको छ । त्यस्तै ललितनारायण राजवंशी, आरिफ शेख, प्रतिश जीसी, सन्दीप जोराले पनि आफ्नो भूमिका निभाएकै छन । किशोर महतो, अर्जुन साउद र श्याम ढकालले अवसर पाएका खण्डमा आफूलाई सशक्त देखाउने नै छन । भारत र पाकिस्तानसँग आकर्षक ब्याटिङ र बलिङ गर्ने खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर त पाउने छ नै विभिन्न फ्रेन्चाइज क्रिकेटमासमेत ढोका खोल्न सक्नेछन ।