मेचीनगर, भदौ १ । मेचीनगर नगरपालिका कार्यालयले किसानको कुरामा बेवास्ता गरे पछि पशुमा लाग्ने महामारी रोग लम्फी स्कीनको खोप नगरका किसानहरुले आफ्नै खर्चमा लगाउन थालेका छन । देशैभरी महामारीको रुपमा फैलिएको लम्फी स्कीन रोग बिरुद्धको खोप पशुहरुमा लगाउन पशु पालक किसानहरुले नगरपालिकालाई पटक पटक अनुरोध गर्दा समेत पनि नगरपालिकाले बेवास्ता गरे पछि अहिले किसानहरुले आफ्नै खर्चमा खोप लगाउन थालेका छन ।
लम्फी स्कीन रोगको महामारी फैलिन थाले पछि मेचीनगर वडा नं. ४ र ९ का पशु पालक किसानहरु फरक फरक समूहमा आएर नगरपालिकामा पुगेर प्रमुख र उपप्रमुखलाई नै भेटेर पशुहरुमा खोप लगाइदिन अनुरोध गर्दा पनि नगरपालिकाले खोप खरिदको प्रक्रियाका बारेमा कुनै चासो नदेखाए पछि किसानहरुले आफुले पालेका पशुमा संक्रमण नफैलियोस भनेर आफ्नै खर्चमा खोप किनेर लगाउन थालेको मेचीनगर ४ का एक किसानले बताउनु भयो ।
‘नगरपालिकाको भर पर्दा हाम्रो त करोडौंको क्षति हुने भयो,’ मेचीनगर २ का गाइ फार्म सञ्चालक बद्री निरौलाले भन्नुभयो, ‘त्यसैले हामीले आफ्नै खर्चमा लम्फी स्कीन बिरुद्धको खोप लगायौं ।’ बाहुनडाँगी क्षेत्रका मात्रै पाँच वटा गाई फार्मले एक लाख मुल्य बराबरको खोप भारतबाट ल्याएर लगाएको निरौलाले जानकारी दिनुभयो ।
किसानले प्रति पशु १५० रुपैंया तिरेर खोप लगाइरहेको मेचीनगरका पशु शाखा प्रमुख छत्रबहादुर राईले बताउनु भयो । किसानले आफैं खोप किनेर पनि ल्याउँछन नत्र हामीले पैसा लिएर लगाईदिन्छौं, पशु शाखा प्रमुख राईले भन्नुभयो, प्राविधिक सेवा भने नगरपालिकाको तर्फबाट निशुल्क उपलब्ध गराएका छौं । मेचीनगर क्षेत्र भित्र करीब बीस हजार पशु रहेकोमा अहिलेसम्म नगरपालिकाको प्राविधिक मार्फत करीब एक हजार आठ सय पशुमा मात्रै खोप लगाइएको राईले जानकारी दिनुभयो । ‘बाहुनडाँगीको गाई फार्मको रेकर्ड यसमा छैन,’ राईले भन्नुभयो, ‘वहाँहरुले आफ्नै हिसावले खोप लगाउनु भएको सुनेको छु ।’
नगरमा पशु प्राविधिकको संख्या न्यून भएकाले पनि काम गर्न समस्या भएको राईले बताउनु भयो । ‘हामी ६ जना मात्रै प्राविधिक छौं,’ वहाँले भन्नुभयो, दुई जना कार्यालयमा बस्नै पर्छ, ‘त्यसैले पनि फिल्डमा काम गर्न समस्या भएको छ ।’ कम्तीमा एउटा वडामा एक जना प्राविधिक अनिवार्य चाहिने अवस्था भएको राईको भनाई छ । मेचीनगरमा पशु पालन धेरै भएकाले एक जना पशु चिकित्सकको आवश्यकता भएको पशुशाखा प्रमुख राईको भनाई छ ।
यसैबीच मेचीनगर वडा नं. ८ ले भने वडा कार्यालयकै बजेटबाट लम्फी स्कीन रोग बिरुद्धको खोप किनेर वडाका पशुहरुलाई निशुल्क खोप लगाइरहेको छ । ‘हामीले वडाकै बजेटबाट खोप किनेर किसानका लागि निशुल्क उपलब्ध गराएका छौं,’ वडा नं. ८ का वडाअध्यक्ष गिरीराज धमलाले भन्नुभयो, ‘अहिले हामीले ६ सय २५ खोप ल्याएका छौं, आवश्यकता अनुसार थप खोप ल्याएर भए पनि वडाका सबै पशुलाई लगाउने योजना छ र नगरपालिकाका प्राविधिकहरुले खोप लगाउने काम गरिरहेका छन ।’
मेचीनगरको वडा नं. २ र ४ मा मात्रै ५० देखी २०० सम्म गाई भएका फार्म २६ वटा रहेका छन । मेचीनगर झापामा नै सबैभन्दा धेरे दुध उत्पादन गर्ने स्थानीय तहमा पर्छ भने झापा जिल्ला नेपालमा सबैभन्दा धेरै दुध उत्पादन गर्ने जिल्लामा पर्छ ।
लम्फी स्कीन रोगका लागि तान्जीनियाको हेष्टर कम्पनीको एसएलडी भ्याक्सिन, जोर्डनको लम्फीसिल्ड भ्याक्सिन र टर्कीको लम्फी भ्याक भ्याक्सिनलाई नेपाल सरकारले पशुहरुमा लगाउनका लागि उपयुक्त भनि सूचीकृत गरेको छ ।