झापा, भदौ १ । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान प्रदत्त अधिकार हरेक नागरिकले उपयोग गर्न पाउने ग्यारेन्टीका लागि आफू प्रयत्नशील रहेको बताउनु भएको छ ।
शुक्रबार सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षक तथा कर्मचारीको ध्यानाकर्षणपत्र बुझ्दै वहाँले सम्बन्धित सरोकारवालासँग बसेर छलफल नगरी विधेयक ल्याउनु नै समस्याको जड भएको औँल्याउनु भयो । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० अपूर्ण र अपुरो रहेको वहाँको निष्कर्ष छ।
‘मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु’ वहाँले भन्नुभयो, ‘यो ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको अन्योल सिर्जना गरेको छ ।’ महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको विश्वास दिलाउँदै शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुभयो ।
झापा १ का संघीय सांसद समेत रहनुभएका शर्माले विधेयक क्याविनेटमा पास नभई संसदमा नआउने र गलत ढंगले आए विधेयक संशोधन हुने नियम सुनाउनु भयो ।
प्रस्तावित शिक्षा ऐन आफूले मिहीन ढंगले अध्ययन गरेको बताउँदै शर्माले गलत कुरा पास गर्नु भन्दा नगर्नु नै राम्रो हुने पक्षमा आफू रहेको बताउनु भयो । प्रस्तावित विधेयक प्रतिगामी र अधिनायकवादी सोच चेतबाट तयार गरिएको वहाँको टिप्पणी छ ।
शिक्षा ऐन ल्याउन नयाँ प्रक्रियामा जानू पर्ने निष्कर्षमा आफू पुगेको उल्लेख गर्नु भएका शर्माले प्रस्तावित विधेयकका विषयमा आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासँग छलफल समेत गरेको बताउनु भयो ।
शर्माले प्रस्तावित विधेयक जस्ताको त्यस्तै चाहेर पनि कसैले संसदमा ल्याउन नसक्ने, ल्याएमा त्यसलाई जसरी पनि रोक्ने विश्वास दिलाउनु भयो । विधेयकमा ट्रस्ट, व्यवस्थापन समितिको प्रावधान, जिल्ला शिक्षा कार्यालयको अवधारणा गलत नियतका साथ राखिएको शर्माको बुझाइ छ । वहाँले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगत रुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताउनु भयो ।
सांसद शर्माको धुलाबारीस्थीत घरमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका शिक्षक तथा कर्मचारीहरुको समूहले पनि ऐन जरुरी भएको बताएका थिए । उनीहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकोले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।
ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक संघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं , सदस्य भुमादेवी आन्दम्बे, नेपाल राष्ट्रिय शिक्षक संगठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, एकीकृत अखिल नेपाल शिक्षक संगठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक संघ झापा अध्यक्ष तोयानाथ दाहाल, पूर्वअध्यक्ष नेत्रप्रसाद खरेल, मेचीनगर अध्यक्ष शान्ता निरौला, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष लेखनाथ पौडेल केशव, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल, शिक्षक रमेश दाहाल, टिकेन्द्र खनाल लगायत समूह महामन्त्री शर्माको निजी निवास पुगेको थियोे ।