झापा,साउन २३ । संघिय शिक्षा ऐन मस्यौदाको विरोधमा आन्दोलनमा रहेका झापाका शिक्षक तथा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइ झापामा धर्ना दिएका छन ।
प्रस्तावित शिक्षा ऐन २०८० मा शिक्षक–कर्मचारी मैत्री व्यवस्था लागु गर्न माग गर्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन अन्र्तगत देशभरका शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिइएको हो । यस अघि आइतबार देशभरका पालिकाहरुमा धर्ना दिइएको थियो ।
महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यन्वयन गर्न तथा विद्यालय शिक्षा ऐन–२०८० मा शिक्षा, शिक्षक र कर्मचारीहरुको माग–मुद्धा सम्बोधन गर्न माग गर्दै आन्दोलनमा होमिएको नेपाल शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाईले जानकारी दिनुभयो ।
सरकारले पाँच दशकपछि पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्दै ल्याउन लागेको नयाँ ऐनमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएका सहमतिका आधारमा शिक्षक–कर्मचारी मैत्री व्यवस्थाहरु हुनुपर्ने आफुहरुको माग रहेकोे कोशी प्रदेश अध्यक्ष चम्लागाईले बताउनुभयो ।
राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, बालशिक्षिका लगायत पेशाकर्मीहरुलाई उपेक्षा गरेको र पेशागत हितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएको आन्दोलित शिक्षकहरूको गुनासो छ ।
निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको पनि उनीहरूले बताउँदै आएका छन् । अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी गरिनुपर्ने पनि उनीहरुले माग राखेका छन् ।