मेचीनगर,साउन २८ । प्रस्तावित विद्यालय शिक्षा ऐनमा शिक्षक–कर्मचारी मैत्री व्यवस्था लागु गर्न माग गर्दै शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले पहिलो चरणको आन्दोलन थालेको छ । महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति कार्यन्वयन गर्न तथा विद्यालय शिक्षा ऐन–२०८० मा शिक्षा, शिक्षक र कर्मचारीहरुको माग–मुद्धा सम्बोधन गर्न माग गर्दै आन्दोलन थालिएको हो ।
पहिलो चरणमा महासंघले आज मेचीनगर सहित देशभरका ७ सय ५३ पालिकामा तीन घण्टा धर्ना दिएको छ । यहि क्रममा मेचीनगर नगरपालिकाका शिक्षक–कर्मचारीहरुले पनि आज नगरपालिका कार्यलय पुगेर ३ घण्टा धर्ना दिएका छन । साथै महासंघ र नेपाल सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिे सहमतिका छायाप्रति सहित ज्ञापनपत्र पनि नगरपालिकालाई पेस गरिएको छ ।
नगरपालिका भवनको मूलढोकामा मेचीनगरका विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारीहरु विहान ११ वजे बाट धर्नामा बस्नुभएको थियो । विद्यालयको पठनपाठनमा असर नपुर्याइ महासंघले आन्दोलनको कार्यक्रम गरेको थियो । हरेक विद्यालयबाट प्रतिनिधिमूलक रुपमा गरेर करिब डेढ सय जना शिक्षक कर्मचारीहरुको सहभागिता रहेको नेपाल शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलले जानकारी दिनुभयो ।
कक्षा १२ सम्मको विद्यालयबाट ५ जना ,आधारभुत विद्यालयबाट ३ जना र प्राथमिकबाट २ जनाका दरले सहभागी भएर धर्ना दिइएको कारण कुनै पनि विद्यालयमा पठन पाठन नरोकिएको उहाँले वताउनुभयो । विद्यालय पोशाकमै नगरपालिकाको मूलढोकाको भुइँमै पलेटी कसेर धर्नामा बस्नु भएको थियो । धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागाई, नेपाल शिक्षक संघका झापा अध्यक्ष तोयानाथ दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन झापाका सचिव लम्बोदर पौडेल लगायतको उपस्थिती रहेको थियो ।
सरकारले पाँच दशकपछि पुरानो शिक्षा ऐनलाई प्रतिस्थापन गर्दै ल्याउन लागेको नयाँ ऐनमा शिक्षक महासंघ र नेपाल सरकारबीच भएका सहमतिका आधारमा शिक्षक–कर्मचारी मैत्री व्यवस्थाहरु हुनुपर्ने आफुहरुको माग रहेकोे कोशी प्रदेश अध्यक्ष चम्लागाईले बताउनुभयो ।
सबै पालिकामा आज प्रमुख प्रशासकीय अधिकृतमार्फत संघीय सरकारलाई ज्ञापन पत्र वुझाइएको जानकारी दिदै उहाँले आफुहरुको मागको उचित सम्बोधन नभए अझै कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने बताउनुभयो ।