झापा,साउन २५ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुको संक्रमणवाट हाल सम्म आठजनाको मृत्यु भइसकेको छ ।
महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार हालसम्म ७४ जिल्लाका १० हजार ७२६ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको संक्रमण कोशी प्रदेशमा सबैभन्दा धेरै देखिएको छ । कोशीमा आठ हजार १०९ जनामा डेंगु पुष्टि भएको छ । यसैगरी, बागमती प्रदेशमा एक हजार ४५३, गण्डकी प्रदेशमा ४७१, सुदूरपश्चिम प्रदेशमा ३९३, लुम्बिनी प्रदेशमा २१५, मधेश प्रदेशमा ५७ कर्णाली प्रदेशमा २८ जनामा डेंगु पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै नौ हजार ६१२ जनामा डेंगु पुष्टि भएको छ । सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् ।
सुनसरीमा छ हजार ४१, मोरङमा एक हजार ३४४, झापामा १८२, धादिङमा एक हजार २७, कास्कीमा २२५, दार्चुलामा १९२, काठमाडौंमा १५१, सङ्खुवासभामा १४८, तनहुँमा ७९ जनामा डेंगु पुष्टि भएको छ ।