नेपाल क्रिकेट संघ झापाकाे अध्यक्षमा प्रविन थापा चयन हुनु भएकाे छ । बुधबार काकरभिट्टामा समपन्न क्रिकेट संघ झापाकाे आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनले मेचीनगरका थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
संघको उपाध्यक्षमा वीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्ष चोलानाथ दाहाल सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा मनोज कटवाल, हितेन्द्रमान मान श्रेष्ठ, सुरेश् गुरागाईँ, अमित श्रेष्ठ, विनित बास्तोला, कञ्चन उप्रेती, योगेन्द्र खड्का, जिवेश ओली, नारद नेपाल, तुलसी कार्की र हिमाल पोर्तेल विश्वकर्मा सर्वसम्मत चयन हुनु भएकाे संघले जनाएकाे छ ।
संघले क्रिकेट खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा सहभागी भएर विभिन्न रेकर्डहरु बनाउन सफल राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुविना क्षेत्रीसहित अन्य खेलाडी र दुईजना प्रशिक्षक गरी कुल १२ जनालाई सम्मान गरेको छ । काँकरभिट्टा- ६ स्थित खानेपानी संस्थाको सभाहलमा भएको कार्यक्रममा प्रशिक्षकहरु लाक्पा लामा र वीरु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, संगीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित सबैलाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरेका थिए ।