झापा ,साउन २३। केही दिनयता देशव्यापीरुपमा फैलिरहेको आँखा पाक्ने रोगले जनजिवन प्रभावित बनाएको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।। यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।
कोसी प्रदेशमा आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिएर संक्रमण तीव्र भइरहँदा रोकथामको लागि पहल शुन्य देखिएको छ । केही स्थानिय तहले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको भएता पनि प्रदेश सरकारको तर्फबाट भने कुनै पहल नभएको हो । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोग सुरुमा बालबालिकामार्फत फैलिएको थियो भने अहिले सबै उमेर समूह प्रभावित बनिरहेका छन्।
चिकित्सकका अनुसार ‘एडिनो’ भाइरसका कारण निम्तिएको संक्रमण विद्यालय, आँखा अस्पताललगायत भीडभाड धेरै हुने सार्वजनिक स्थलबाट समुदायस्तरमै फैलिइरहेको छ। कतिपय स्थानका विद्यालयहरू बन्द गरिएको छ। संक्रमण रोकथामका लागि प्रदेश सरकारले भने सामान्य जनचेतनामूलक कार्यक्रम पनि गरेको छैन। प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रवीन्द्र अधिकारीका अनुसार आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको छ यसको रोकथाम र नियन्त्रणका लागि केही गर्न सकिएको छैन ।
मानव शरीरको महत्वपूर्ण अंगमध्येको आँखा जोगाउन अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन नहुदाँ आम नागरिकले समेत सतर्कता अपनाएका छैनन् । प्रदेश सरकारले संक्रमितको तथ्यांक संकलन नगर्दा प्रदेशभित्र कति जनामा संक्रमण देखियो भन्ने जानकारी सम्म उपल्वध भएको छैन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रकोपको ‘रिपोर्टिङ’ सबैतिर भइरहेको बताउनुभयो । ‘जनघनत्व धेरै भएको र जमघट तथा भेटघाट बढी हुने स्थानबाट तीव्र गतिमा संक्रमण फैलिइरहेको छ उहाँको भनार्ई छ ।
चिकित्सकहरुका अनुसार आँखाको संक्रमण एकबाट अर्कोमा चाँडो सर्छ। संक्रमितसँगको सम्पर्क, एउटै कपडालगायतका वस्तुको प्रयोग आदिबाट चाँडो सर्ने भएकाले यसबाट बच्न सावधानी र आँखाको सुरक्षामा ध्यान दिनु उत्तम हुने चिकित्सकहरुको भनाई छ । भाइरलको रूप रहेको यो रोग लागे जथाभावी औषधि किनेर प्रयोग गर्न नहुने चिकित्सकको सुझाव छ । यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ ।