अन्तत बहुमत प्रदेशसभा सदस्यकाे समर्थनमा नेपाली काँग्रेस कोशी संसदीय दलका नेता उद्धब थापा मुख्यमन्त्री नियुक्त हुनु भएकाे छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मुख्यमन्त्री नियुक्त गर्नु भएकाे ।
थापालाई मुख्यमन्त्री बनाउन काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुख बाबुराम गौतमले छुट्टै हस्ताक्षर गरेर थापाले मुख्यमन्त्रीको दावी पेश गरेकोमा अहिले गौतमले सभामुखबाट राजीनामा दिइसकेकोले वहाँ माओवादी संसदीय दलका सदस्य कायम रहेकोले गठबन्धनसँग बहुमत अर्थात ४७ सांसद छन् । गठबन्धनको सरकार बनाउन सभामुख गौतमले आज नै पदबाट राजीनमा दिनु भएकाे थियाे ।
तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि असार २१ गते थापा मुख्यमन्त्री नियुक्त हुनु भएकाे थियाे । तर, साउन ११ गते संविधान मिचेर थापाको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरिदिएको थियो ।
थापा नेतृत्वको सरकार २२ दिनमै बर्खास्त भएकोमा पुनः थापालाई नै मुख्यमन्त्रीको रुपमा गठबन्धनले अगाडि सारेको हो । झापा घर हुनु भएका थापा प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुनुहुन्छ ।
कोशी प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् । सरकार गठनको लागि सभामुखले राजीनमा दिएपछि गठबन्धनले सहज बहुमत जुटाएको भएपनि विश्वासको मत लिन भने सहज देखिएको छैन ।
सरकार गठन भएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।