झापा, साउन १२ । झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको जग्गाको बर्गिकरण अभिलेख बुझाएको छ । जग्गा भूउपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि नगरपालिकाले हिजो मालपोत कार्यालय र नापी कार्यालय चन्द्रगढीमा अभिलेख बुझाएको हो ।
नगरपालिकाको तर्फबाट जग्गा भूउपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि अभिलेख बिहिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले संयुक्त रुपमा मालपोत कार्यालय र नापी कार्यालय चन्द्रगढीका प्रमुखहरुलाई कार्यकक्षमा नै पुगेर बुझाएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले जग्गा बर्गिकरणको अभिलेख बुझाए पछि केही प्राविधिक काम सकेर आगामी बुधबारदेखि मेचीनगरका १५ वटै वडाको कित्ताकाट खुल्ला गरिने मालपोत कार्यालयस्रोतले जनाएको छ ।
भूउपयोग नियमावली २०७९ परिच्छेद ३ को दफा १० बमोजिम पालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भूउपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख बुढाथोकीले मेचीनगरमा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, औंद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदि खोला ताल सिमसार क्षेत्र, साँस्कृतिक महत्वको क्षेत्र आदिमा वर्गीकरण गरिएको जानकारी दिनुभयो । वहाँले नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट आगामी बुुधबारदेखि खुल्ला हुने बताउनुभयो । जग्गा कित्ताकाट रोकिँदा मेचीनगरवासीले सास्ती भोग्नु परेको बताउँदै उपप्रमुख मीना पोख्रेल उप्रेतीले अब कित्ताकाट खुल्ला भएसंगै सहज हुने बताउनुभयो ।
यसैबिच नगरपालिकाले सडकले नछोएका सबै जग्गा कृषि क्षेत्रमा पर्ने र छोएका सबै जग्गा आवासीय क्षेत्रमा वर्गीकृत गरेको मेचीनगरस्रोतले जनाएको छ ।
नगरको भूउपयोग सम्बन्धी कार्यविधि अनुसार अब कृषि क्षेत्रमा वर्गिकरण भएका जग्गालाई २ कठ्ठाभन्दा सानो आकारमा कित्ताकाट गर्न पाइने छैन । भने आवासीय जग्गालाई पनि ८ धुरभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न नपाइने भएको छ ।
कृषिमा वर्गीकृत भएको जग्गा यदि १४ कठ्ठाभन्दा बढी एउटै कित्तामा छ भने एकपटकका लागि जग्गाधनीले वडा कार्यालयको सिफारिसमा कृषि क्षेत्रमै जग्गालाई दुई कित्तामा रुपान्तरण गर्न पाउने नियम बनाइएको छ ।