नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । आज केन्द्रीय बैंकको बोर्ड बैठकले आर्थिक वर्षको मौद्रिक नीति पारित गरेसँगै वेबसाइटमार्फत मौद्रिक नीति सार्वजनिक गरिको हो ।
केन्द्रीय बैंकद्वारा जारी मौद्रिक नीतिले वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ प्राथमिकता दिएको छ । यसबाहेक, ठूला कर्जाहरुको अनुगमन, नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, कर्जाको अधिकेन्द्रीकरण कम गर्दै लैजाने, साना तथा मझौला उत्पादनशील कर्जालाई प्राथमिक्ता दिने लगायतका नीति तर्जुमा गरिएको छ ।
त्यस्तै मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिइएको छ । यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्तन गरिएको छैन ।
यस्ता छन् मौद्रिक नीतिको मुख्य नीतिहरू
–आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंक दरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।
–यस बैंकले सञ्चालन लक्ष्यको रूपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने छ ।
–बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखिएको छ ।
–ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने व्यवस्था गरिने छ ।
–अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत् राखिएको छ ।
– राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने
– सहकारीको नियमन गर्न विशिष्टीकृत निकाय स्थापना गरिने
– विदेश भ्रमणमा जाँदा २५ सय डलर सटही सुविधा
– कर्जाको जोखिम भार व्यवस्था पुनरवलोकन गरिने