मेचीनगर, असार ३० । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीहरुका लागि दश करोड भारतिय रुपैँयाको छात्रवृत्ति उपलब्ध गराउने भएको छ । आसामको ग्वाहाटीमा अवस्थित यस युनिभर्सिटीले हरेक विद्यार्थीलाई ५० प्रतिशत ग्यारेन्टीका साथ छात्रवृत्ति उपलब्ध गराउने भएको हो । युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराईले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीमार्फत छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिनुभएको हो ।
छात्रवृत्तिमा विद्यार्थी छनोट स्वरुप कन्सल्टेन्सीले यसअघि (सिएसटी) परीक्षा लिएको थियो । जसमा देशभरबाट विद्यार्थीहरु सहभागी भएका थिए । अब भने उक्त परीक्षामा सहभागी बन्न छुटेका नेपाली विद्यार्थीहरुलाई पनि युनिभर्सिटीले छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । जसका लागि एसइइ उतिर्ण तथा प्लस टु सकेका विद्यार्थीले कन्सल्टेन्सीमा सम्पर्क गर्नुपर्नेछ ।
कोरोना महामारीपछि युनिभर्सिटीले नसोचेको आँकडामा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिरहेको भट्टराईले पत्रकार सम्मेलनमा बताउनुभयो । युनिभर्सिटीले भुटान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरु भन्दा नेपाली विद्यार्थीलाई बढी प्राथमिकता दिएको उहाँको भनाई छ । उहाँले इन्जिनियरिङ, मेडिकल, पारामेडिकल, होटल मेनेज्मेन्ट, सूचना तथा प्रविधि (आईटी) लगायतका दर्जनौं विषयमा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीहरुका लागि युनिभर्सिटीको ढोका सधै खुल्ला रहेको दावी गर्नुभयो । युनिभर्सिटीले गत वर्ष पनि ५ करोड भारतिय रुपैँयाको छात्रवृत्ति नेपाली विद्यार्थीहरुलाई उपलब्ध गराएको थियो । यसवर्ष त्यसलाई बढाएर १० करोड पुर्याइएको छ । यस युनिभर्सिटमा गतवर्ष ७० जना नेपाली विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।
यसपटक पनि सोहि संख्यामा विद्यार्थीहरुले सिएसटी परीक्षा दिएर स्कलरसिप पाइसकेका छन् । परीक्षा दिन छुटेका विद्यार्थीले अहिलेपनि सहभागी बन्न पाउनेछन् । त्रिभुवन विश्वविद्यालयबाट आसाम डाउन टाउन युनिभर्सिटीमा पढाई पूरा गरेर फर्किएका कुनै पनि विद्यार्थीको समकक्षता प्रमाणपत्र लिनका लागि समस्या नपर्ने उहाँको भनाई छ । पूर्वोत्तर भारतमा सन् २०१० मा स्थापित सबैभन्दा ठूलो र प्रतिष्ठित युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ । आसामको गुवाहाटीमा रहेको युनिभर्सिटी नेपाली विद्यार्थीहरुले रोज्नुमा त्यहाँको हावापानी, भूगोल, भाषा, संस्कृति, रहनसहन र नजिकको दूरीको समेत कारण रहेको भट्टराईको भनाई छ । झापाबाट त्यहाँ पुग्न ५०० किलोमिटरको दुरी पर्छ । युनिभर्सिटीसँग पोखरा, विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालय, काठमाडौँ र मोरङ्गको सुकुना क्याम्पसले उच्च शिक्षा, व्यवस्थापन लगायतका विषयमा सम्झौता गरेका छन्