झापा, असार ३० । २१० औं भानु जन्मजयन्तीको अवसरमा हिजो झापाको काकरभिट्टामा आयोजित कार्यक्रममा विभिन्न विधाका व्यक्तित्व र संस्थालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । काँकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले २१० औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मेचीनगरका तीनजना स्रष्टा र एउटा संस्थालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री, सञ्चारकर्मी भुमिका सुब्बा, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र जेष्ठ नागरिक समाज मेचीनगर ६ रहेका छन ।
खेलकुद क्षेत्रमा अब्बल काँकरभिट्टा निवासी नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नगद २१ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । सञ्चार क्षेत्रमा कलम चलाउने महिला सञ्चारकर्मी भुमिका लिम्बुलाई नगद ११ हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठान अन्तरगत रहेको हेमराज–मेदनी खरेल पुरस्कारबाट साहित्यतर्फकी साहित्यकार लक्ष्मी अच्युत ढुंगानालाई र कृष्ण–पवित्रा उप्रेती प्रतिष्ठान पुरस्कारबाट कला र संस्कृतिको प्रवद्र्धनतर्फ पञ्चेबाजा तथा संगीनी नाचमा संस्थाका रुपमा ज्येष्ठ नागरिक वडा समिति मेचीनगर ६ लाई नगद ११ हजार सहित पुरस्कृत तथा सम्मान गरिएको प्रतिष्ठानका कार्याबाहक अध्यक्ष डिल्लीराम घिमिरेले बताउनु भयो ।
काँकरभिट्टास्थित आदिकवि भानुभक्त आचार्यको पूणर्कदको शालिकमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रमको उदघाटन रामायण वाचन गरेर गरिएको थियो ।
सम्मानित एवम पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज नेपाल, विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलगयातले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानका कार्याबाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिल्लीराज नेपाल, विशिष्टहरु अतिथि मेचीनगर नगरउपप्रमुख मीना उप्रेती, संविधानसभा सदस्य रविन कोइरालालगायतले बोलेका थिए । वक्ताहरुले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए । आदिकवि आचार्य नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कवि भएको भन्दैं वहाँहरुले बाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात रहेको चर्चासमेत गरेका थिए ।
कार्यक्रम स्थल काँकरभिट्टा खानोपानी उपभोक्ता तथा सरसफाई समितिको सभाहलमा संगिनीसहित विविध नृत्य प्रस्तुत गरिएको थियो । प्रतिोगितात्मक रामायण वाचन तथा कवि गोष्ठीमा थुप्रैले आ आफ्नो पाठ प्रस्तुत गरेका थिए । महासचिव सुशील आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत मन्तव्य गर्नु भएको थियो ।