झापा, असार २९ । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटि सदस्य तथा क्षेत्रीय इन्चार्ज रघु धिमाल, जिल्ला कमिटि सदस्य तथा झापा क्षेत्र नं. १ का इन्चार्ज सरोज मेहरा तथा मेचीनगरका अध्यक्ष कृष्ण श्रेष्ठ लगायतको ४/५ जना मेचीनगर ८ स्थीत इटाभट्टा चोक उत्तरको एउटा चिया पसलमा बसेर चिया खाइरहेको अवस्था थियो । दिउँसोको करीब १२ः३० बजेको समयमा उनीहरु सामान्य चिया गफ गरिरहेकै अवस्थामा एक्कासी युवा संघ झापाका पुर्व सहसचिव सुमन थापाको नेतृत्वमा १२/१३ जनाको समूह एउटा स्कर्पियो र दुई वटा मोटरसाईकलमा त्याहा पुग्यो ।
त्याहाँ बसिरहेका सबैसंग थापाले हात मिलाउँदै गए जब सरोज मेहराको छेउमा पुग्नुभयो तब थापाले मेहरालाई हातपात गर्नुभयो । त्यसको प्रतिकारमा मेहराले के गरेको भनेर प्रश्न गर्ने बित्तिकै थापाले खुकुरी निकाल्नुभयो । एकै छिनमा चिया पसलको माहोल अस्वाभाविक अवस्थाको बन्यो । थापाले नाङ्गो खुकुरी मेहरा तर्फ सोज्याए पछि मेहरासंगै चिया खाईरहेको धिमाल र श्रेष्ठ लगायतले थापालाई रोक्न खोजे तर त्यो बेलासम्म थापासंगै आएका अन्य युवाहरुले धिमाल र श्रेष्ठलाई समेत हातपात गर्न शुरु गरिसकेका थिए ।
ज्यानकै जोखिम हुने देखेपछि मेहरा चिया पसलबाट बाहिरिन खोज्दा थापाको तर्फबाट खुकुरीले प्रहार भयो । त्यस पछि भने त्याहा रहेका स्थानीय मानिसहरु थापाको समूह तिर खनियो । स्थानीयहरुले मेहरा, धिमाल र श्रेष्ठको समूहलाई जोगाउन थापाको समूह बिरुद्ध प्रतिकार गर्यो । थापाको समूहको मुख्य निसानामा देखिएका मेहरालाई थापाले खुकुरी लिएर खेदाउन थाले पछि स्थानीयबासीले मेहरालाई एउटा घरको माथिल्लो तलामा लगेर राखे र थापाको समूह बिरुद्ध खनिए पछि थापाको नेतृत्वको समूह त्याहाँबाट भागेको थियो । त्यसक्रममा मेहरा सामान्य घाइते पनि भए । तर पनि स्थानीयको सहयोगले कुनै ठुलो दुर्घट्ना भने हुन पाएन ।
यो घट्ना हो गत असार २५ गते सोमबारका दिनको । युवा संघ मेचीनगरको भेला गरेर आगामी अधिवेशनका सन्धर्भका बारेमा छलफल गर्ने बिषयमा उत्पन्न विवादले यो रुप लिएको युवा संघका नेताहरुले बताएका छन । घट्नाको मुख्य बिषय भने असार १२ गते केन्द्रीय उपाध्यक्ष कृष्णहरी केसी र केन्द्रीय सचिव अनिता कन्दङम्बाको उपस्थीतिमा बिर्तामोडमा बसेको जिल्ला कमिटिको बैठकले झापाका मेचीनगर र हल्दीवारीको संयोजक तोकेको थियो । त्यही क्रममा मेचीनगरको संयोजकमा कृष्ण श्रेष्ठलाई चयन गरेको थियो । जिल्ला कमिटिको उक्त निर्णय बिरुद्ध असार १२ गतेकै बेलुका युवा संघको एउटा समूहले निर्णय नमान्ने भन्दै धारणा सार्वजनिक गरेको थियो ।
राष्ट्रिय युवा संघको केन्द्रको ‘नेक्स्ट इलेक्सनः टार्गेट न्यू जेनेरेशन’ अभियान अन्तर्गत मेचीनगरको कार्यक्रम तय गर्न असार २५ गते मेचीनगर ८ इटाभट्टास्थीत नारी कल्याणकारीणी संस्थाको सभाहलमा भेला बोलाइएको थियो । तर जिल्ला कमिटिको निर्णय बिरुद्ध उभिएका पुर्व जिल्ला सहसचिव सुमन थापाको नेतृत्वको समूहले त्यस अघि नै उक्त भेला नराख्न नेतृत्वलाई आग्रह गरिसकेको थियो ।
असहज परिस्थीती हुने अनुमान गरेर युवा संघ जिल्ला नेतृत्वको निर्देशनमा भेला स्थगन गरिएको थियो । कार्यक्रम नहुने भए पछि सोही सभाहलको छेउमै रहेको चिया पसलमा बसिरहेका मेहरा, धिमाल र श्रेष्ठको समूहमाथी थापाको समूहले एक्कासी सांघातिक आक्रमणको प्रयास गरेको थियो ।
‘सुमन जीहरुकै माग अनुसार भेला स्थगित भइसकेको थियो,’ मेहराले भन्नुभयो, ‘कार्यक्रम नहुने भए पछि हामी ४/५ जना भेला भएर चिया खाइरहेका थियौं तर सुमन जीहरु आएर एक्कासी आक्रमणमा उत्रिनु भयो ।’ फिल्मी शैलीमा आएर कुनै सम्वाद र छलफल नै नगरी थापाले आफु माथी खुकुरीले आक्रमण गरेको मेहराले बताउनु भयो । ‘धन्न स्थानीयहरुले हामीलाई बचाउनु भयो,’ वहाँले भन्नुभयो, ‘नत्र त्यो दिन निक्कै ठुलो दुर्घट्ना हुने अवस्था थियो ।’
‘हाम्रै संगठनको जिल्लाको पदाधिकारी भइसकेको व्यक्ति हामी बसेको ठाउँमा आउँदा हामीले सामान्य रुपमा लिऔं,’ युवा संघ प्रदेश कमिटि सदस्य धिमालले भन्नुभयो, ‘केही छलफल गर्ने होला भन्ने लागेको तर सुमन जीले एक्कासि खुकुरी निकालेर हामी माथि प्रहार गर्न शुरु गर्नु भयो ।’
आफुहरु बिरुद्ध सांघातिक आक्रमण गर्ने थापालाई कानूनी कारबाहीका लागि दिएको जायरी समेत राजनितिक दबाबका कारण प्रहरीले दर्ता गर्न नमानेको मेहराको आरोप छ ।
‘थापा बिरुद्ध कानूनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय काकरभिट्टामा जायरी दर्ता गर्न खोज्दा प्रहरीले दर्ता गर्न मानेन,’ मेहराले भन्नुभयो, ‘राजनितिक कुरा एकातिर होला तर व्यक्तिगत रुपमा मेरो ज्यान मार्ने प्रयास भएको छ तर प्रहरी उजुरी लिन मान्दैन ।’ घट्नाका बारेमा तत्कालै माउ पार्टी नेकपा एमालेका नेताहरुलाई समेत जानकारी गराउँदा समेत कारबाहीको कुनै प्रक्रिया अगाडी नबढाएकाले हामी प्रहरीमा उजुरी दिन पुगेको प्रदेश कमिटि सदस्य धिमालले बताउनु भयो ।
युवा संघको विवादले सांघातिक आक्रमणको रुप लिंदा पनि नेकपा एमालेको स्थानीय पार्टी कमिटि भने मौन जस्तै देखिएको छ । एमाले जिल्ला कमिटिको नेतृत्वले भने घट्नाका बारेमा चासो देखाए पनि परिणाम देखिने गरी केही प्रक्रिया अगाडी बढाएको छैन ।
युवा संघमा मात्रै होईन एमाले झापा भित्र पार्टी नेतृत्व आफ्नै कार्यकर्ताबाट असुरक्षीत भएको छ । केही दिन अघि एमाले प्रदेश कमिटि सदस्य तथा पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनालीमाथि पनि एमाले जिल्ला कमिटि सदस्य भुपाल ओलीले काकरभिट्टामा आक्रमण गर्नु भएको थियो ।