झापा,असार २८ । अविरल बर्षाका कारण झापाका विभिन्न क्षेत्र डुबान र कटानमा परेका छन । दुइ दिन देखिको अविरल बर्षाका कारण ठुला तथा साना नदीसँगै खोला, पैनी, नालीहरूमा पानीको सतह बढेपछि डुबान र कटानको समस्या देखिएको हो ।
ठुलो माइखोलाले झापा गाँउपालिकामा ६४ घर डुबानमा परेको छ । खोलाको बाढी बस्तीमा पस्दा वडा नं १ र २ का ६४ घर डुबानमा परेको हो ।
वडा नं. १ मिलनवस्तीको ३० र वडा नं .२ को सडकवाडी गाउँमा ३४ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ ।
डुबान क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बेस क्याम्प टाँघनडुब्बाको टोली खटिएको छ । प्रहरीले स्थानीयलाई सतर्क गराउनका साथै जोखिम भएमा सुरक्षित स्थानमा सर्न भनेको छ ।
उता बाह्रदशी गाउँपालिकामा जोखिममा रहेका ४५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अदुवा खोलामा पानीको जलस्तर बढेपछि बाह्रदशी गाउँपालिका– २ स्थित सुकुम्वासी बस्तीका ४५ घरपरिवारका १५० जनालाईसुरक्षित स्थानतर्फ सारिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले अदुवा खोलामा जलस्तर बढ्न थालेपछि सम्भावित क्षतिलाई लक्षित गरी खोला आसपासका स्थानीयलाई बाह्रदशी– २ स्थित दक्षिणेश्वर शिवालय मन्दिरमा सारिएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय राजगढबाट खटिएका प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानतर्फ सारिएको हो ।
अझै दुइ दिन भारी बर्षाको सम्भावना
आगामी दुई दिन पूर्वी नेपालमा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिकं) छ । त्यसैले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षाको प्रक्षेपण गरिएको हो ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार आज र भोली नेपालका पूर्वी र मध्य भेगमा तथा शनिबार पश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ ।
कोशी प्रदेशका सुनसरीको धरान, चतरा, झापाको कनकाई, अनारमनि,चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ । कोशीका ती क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा होचा भूभागमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।