काकरभिट्टा, असोज १५ ।
नेपाल भारतको पुर्वी सिमानामा रहेको मेची नदिमा भर्खरै निर्माण सम्पन्न भएको मेची पुलको नेपाल तर्फको भुभागमा बाटोको बिचमा एउटा स्तम्भ राखिएको छ । त्यो स्तम्भ के हो भन्ने बिषयमा नेपाल पक्षलाई कुनै जानकारी छैन ।
पुल माथी राखिएको पिल्लरको बारेमा नेपाली पक्षलाई जानकारी नभएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले सेतोपत्रलाई बताउनु भयो । प्रजिअ तिमिल्सिनाले भन्नु भयो,‘मेची पुलमाथी पिल्लर बनाएको कुरा मलाई जानकारी छैन, सिमाना हेर्ने दुवै देशको प्राविधिक टोली हुन्छ र त्यसमा नेपालको तर्फबाट नापी विभागले समन्वय गर्छ ।’
नयाँ मेची पुल माथी बनाइएको शंखास्पद पिल्लरका बारेमा नापी विभागलाई समेत कुनै जानकारी नभएको नापी विभागका सिमा शाखाका प्रमुख दयानन्द जोशीले बताउनु भयो । सेतोपत्रसंग कुराकानी गर्दै सिमा शाखा प्रमुख जोशीले भन्नु भयो,‘नयाँ मेची पुलमाथीको पिल्लरका बारेमा हामीलाई जानकारी छैन ।’ वहाँका अनुसार सबै पिल्लर सिमा पिल्लर हुँदैन ।
नेपाल तर्फ नेपाल लेखिएको र भारत तर्फ भारत लेखिएको तथा सिमा स्तम्भ र नम्बर समेत लेखिएको पिल्लरलाई मात्रै सिमा पिल्लरको रुपमा मानिने गरेको सिमा शाखा प्रमुख जोशीले बताउनु भयो । वहाँका अनुसार आगामी मंसीरदेखि दुवै देशका प्राविधिक टोलीले सिमाना अध्यावधिक गर्ने कार्य शुरु गर्ने छन । दुवै देशको प्रतिनिधि नबसी सिमानामा कुनै पनि खाले पिल्लर राख्न नपाईने कानूनी ब्यवस्था रहेको जोशीले सेतोपत्रलाई बताउनु भयो ।
एशियन हाइवेसंगै नेपाल भारत सिमानाको मेची पुल समेत भारतिय ठेकेदार कम्पनीले निर्माण गरेको हो । पुल निर्माणसंगै नेपालको भुमि अतिक्रण गर्ने योजनासंगै भारतिय पक्षले पुलको माथी नेपाली भुभागमा शंकास्पद स्तम्भ बनाएको स्थानीयहरु बताउँछन ।
नयाँ पुलसंगै बनेको एशियन हाइवे निर्माण सम्पन्न भए पछि केहि दिन देखि पुर्वी सिमाना दैनिक जसो सयौंको संख्यामा फोटो खिच्न स्थानीयहरु आउने गरेका छन ।