मेचीनगर, असार १३ । झापाको मेचीनगर नगरपालिकाले वडालाई दिँदै आएको बजेटको सिलिङ घटाएर कर्मचारीको पारिश्रामिकमा भने ६ करोड बढी रकम थपेको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा प्रत्येक वडालाई एक करोडका दरले बजेट सिलिङ दिएको छ । अर्थात प्रत्येक वडाले एक करोड रकम बराबरको योजना बनाएर वडामा कार्यान्वयन गर्दै आएका छन् ।
तर गत आइतबार नगरले ल्याएको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा नगरले दिँदै आएको बजेटको सिलिङ प्रत्येक वडामा ४० लाखका दरले घटाइएको छ । अर्थात नगरले वडामा दिँदै आएको बजेट १५ वटा वडाको गरेर ६ करोड घटाएको छ । नगरपालिकाले संघीय र प्रदेश सरकारबाट नै अनुदान घटेर आएको, आन्तरिक श्रोतबाट कम राजस्व उठेको र बजेट नै बिगतको तुलनामा घटाउनु परेको तर्क दिदै मितव्ययिता अपनाइएको भनेर वडामा दिँदै आएको बजेट ६ करोड घटाएको हो ।
यसरी वडालाई दिँदै आएको बजेटमा ६ करोड रकम कटौती गरेको नगरपालिकाले कर्मचारी पारिश्रामिकमा भने ६ करोड २२ लाख भन्दा धेरै रकम थपेको छ । चालु आर्थिक बर्षमा रु. ३७ करोड ८९ लाख २८ हजार २ सय ४९ छुट्याएको नगरले आगामी आर्थिक बर्षका लागि भने रु. ६ करोड २२ लाख ७३ हजार ७ सय ५१ थपेर रु. ४४ करोड १२ लाख २ हजार बनाएको हो । बजेटमा मितब्ययिता अपनाउने भनेर १५ वटै वडामा ४० लाखका दरले बजेट घटाएको नगरले कर्मचारी तलबमा भने त्यो भन्दा धेरै रकम बढाउँदा आश्चर्य लागेको एक वडा सदस्यले बताएका छन् ।
वडाको बजेटमा ६ करोड कटौती हुँदा नगरको बजेट भने २ करोड पनि घटेन
प्रत्येक वडामा ४० लाखका दरले बजेट घटाएको नगरपालिकाको समग्र बजेट पनि सोहि अनुसार घट्नुपर्ने हो । अर्थात चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षको बजेट पनि ६ करोडले घट्नुपर्ने हो । तर, बजेट भने २ करोड पनि घटेको छैन । चालु आर्थिक बर्षमा रु. एक अर्ब ५२ करोड ८४ लाख ४६ हजार १ सय ६१ बजेट ल्याएको नगरले आगामी आर्थिक बर्षका लागि रु. एक अर्ब ५१ करोड १२ लाख ४० हजार ३६७ बजेट ल्याएको नगरपालिकाले सार्वजनिक गरेको बजेट पुस्तिकामा उल्लेख छ ।
यो चालु आर्थिक बर्षको तुलनामा रु. १ करोड ७२ लाख ५ हजार ७ सय ९४ ले कमी हो । कर्मचारी पारिश्रामिकमा मात्रै ठुलो रकम बढाएको नगरले भत्ता, भ्रमण, कार्यक्रम खर्च, विविध खर्च जस्ता कयौँ क्षेत्रमा पनि ठुलो रकम विनियोजन गरेको छ । भत्ता र भ्रमण खर्चमा मात्रै एक करोड १६ लाख छुट्याएको नगरले इन्धनमा पनि ९२ लाख रकम छुट्याएको छ । यसैगरी करार सेवा शुल्क भनेर पनि रु. ७ करोड १६ लाख बढी रकम छुट्याइएको छ ।