झापा, असार १३ । पुर्वी नेपालको रमणीयस्थलका रुपमा रहेको निचाझोडा सिमसारले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । ‘पुर्वको फेवाताल’ का नामले परिचित हुँदै गरेको निचाझोडा सिमसार अहिले पर्यटकहरुको नयाँ गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
निचाझोडा चारै तिर जँगलले घेरिएको ३२ बिगाहा क्षेत्रफलमा फैलिएको सिमसार अर्थात प्राकृतिक पोखरीका रुपमा रहेको छ । पुर्व पश्चिम राजमार्गको मेचीनगर १३ स्थीत चारआली चोकबाट दक्षीण तर्फको चन्द्रगढी जाने मुख्य सडक अढाई किलोमिटर पुगेपछि सडकको पश्चिम तर्फ देखिन्छ ‘निचाझोडा सिमसार तथा पर्या पर्यटन क्षेत्र’ लेखिएको ठुलो होडिङ बोर्ड र त्यही ठाउँबाट करीब ६ सय मिटर पश्चिमतर्फको जंगल भित्र पसे पछि पुगिन्छ सुन्दर र रमणीय स्थल निचाझोडा सिमसार क्षेत्र ।
निचाझोडा पुग्ने जो कोहीलाई याहाँको रमणीय दृश्यले आनन्दीत बनाउँछ । घना जंगलको बिचमा रहेको ठुलो सिमसार, त्यसमा गरिने नौका बिहार (बोटिङ) को आनन्द नै बेग्लै छ । विभिन्न प्रकारका चराहरुको थरी थरी आवाज, फोटो खिच्नका लागि बनाइएका विभिन्न आकर्षक संरचनाले त्याहाँ पुग्नेका लागि सुखद अनुभुति नहुने त कुरै छैन ।
मेचीनगर १३ को हातेमालो सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा रहेको निचाझोडालाई पर्यटकीय गन्तव्य बनाउन सामुदायिक वन समूह सक्रिय भएर लागेको वन समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल बताउनु हुन्छ । वहाँका अनुसार वनले आफ्नै स्रोतबाट करीब चार करोड खर्च गरेर निचाझोडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेको छ । ‘यस्तो राम्रो ठाउँलाई पर्यटकीय क्षेत्र बनाउँछौं भन्दा अहिलेसम्म राज्यले एक रुपैयाँ पनि दिएको छैन,’ अध्यक्ष सिग्देलले सेतोपत्रसंग भन्नुभयो,‘वन समूहले आफ्नै स्रोतबाट अलि अलि गर्दै व्यवस्थापनको काममा खर्च गरिरहेका छौं ।’ धेरै बर्षदेखि पर्यटकीय क्षेत्र बनाउने अभियान शुरु गरेदेखि यो बर्षदेखि पर्यटकहरु आउन थाल्नु भएको अध्यक्ष सिग्देलले बताउनु भयो । २०८० बैशाख माहिनामा मात्रै करीब एक हजार मानिसले निचाझोडाको भ्रमण गरेको अध्यक्ष सिग्देलले बताउनु भयो ।
३२ बिगाहा क्षेत्रफल मध्ये अहिले करीब १० बिगाहामा बोटिङ गराउन शुरु गरिएको र निचाझोडासम्म पुग्ने सडक व्यवस्थीत गरिएको अध्यक्ष सिग्देलले बताउनु भयो । निचाझोडालाई प्राकृतिक रुपमा नै सजाएर पर्यटकलाई लोभ्याउने योजना रहेको सिग्देलले सुनाउनु भयो । अझै धेरै काम गर्न बाँकी रहेको र बिस्तारै व्यवस्थीत गर्दै लैजाने वन समूहका सचिव प्याकुरेलले बताउनु भयो ।
‘तीनै तहका सरकारहरुले केही रकम दिने हो भने यो ठाउँलाई देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ वन समूहका सचिव यमकान्त प्याकुरेलले भन्नुभयो, ‘तर राज्यले नहेरे पछि वन समूह र उपभोक्ताहरु कै सहयोगबाट निचाझोडालाई राम्रो बनाउन लागि परेका छौं ।’
त्यस क्षेत्रमा झिंगे माछा धेरै पाईने भएकाले राजबंशी भाषामा ‘निचा’ भनेको झिंगे माछा र ‘झोडा’ भनेको झाडी अर्थ लाग्ने हुनाले यस क्षेत्रको नाम निचाझोडा भएको अध्यक्ष सिग्देलले बताउनु भयो । ‘पुर्वको फेवाताल’ ले पर्यटकहरुलाई स्वागत गर्न तयार भएर बसेको छ । नयाँ गन्तव्यको खोजीमा हुनु हुने जो कोहीका लागि निचाझोडा एउटा उपयुक्त र उत्कृष्ठ गन्तव्य हुन सक्छ ।