मेचीनगर, असार १२ । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा भत्ता र भ्रमण खर्चमा मात्रै एक करोड बढी रकम छुट्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट ल्याउँदै नगरपालिकाले विभिन्न शिर्षक राख्दै भत्ता र भ्रमण खर्चमा मात्रै एक करोड एक लाख बढी रकम छुट्याएको हो भने इन्धनमा उसैगरी बजेट विनियोजन गरिएको छ ।
इन्धनमा मात्रै ९२ लाख रकम छुट्याइएको छ । आइतबार दोस्रो नगरसभाको तेस्रो वैठक अधिवेशनबाट बजेट ल्याएको नगरले महंगी भत्ता भन्दै ३० लाख ९६ हजार, कर्मचारीको वैठक भत्तामा २ लाख ३४ हजार, पदाधिकारी वैठक भत्तामा ३० लाख बजेट विनियोजन गरेको हो ।
यसैगरी पदाधिकारी कै अन्य सुविधा शिर्षकमा १५ लाख रकम छुट्याएको छ भने पदाधिकारीकै अन्य भत्ता भन्दै १० लाख रकम छुट्याइएको छ । यसैगरी भ्रमण खर्चमा पनि नगरले २८ लाख रकम विनियोजन गरेको छ । भ्रमण खर्च र अन्य भ्रमण खर्च शिर्षकमा २८ लाख रकम छुट्याइएको छ ।
इन्धनमा ९२ लाख
इन्धमा पनि विभिन्न शिर्षक उल्लेख गर्दै ९२ लाख रकम विनियोजन गरिएको छ । इन्धन शिर्षक अन्तर्गत पदाधिकारीका लागि ३० लाख रकम छुट्याइएको छ भने कार्यालय प्रयोजन शिर्षकमा ५५ लाख ७५ हजार रकम छुट्याइएको छ यसैगरी इन्धन अन्तर्गत नै अन्य प्रयोजन भन्दै ६ लाख २५ हजार रकम विनियोजन गरिएको छ ।
एक अर्ब ५१ करोड १२ लाख ४० हजार बढीको बजेट प्रस्तुत गरेको नगरले अन्य पनि विभिन्न शिर्षकमा बजेट छुट्याएको छ । जसमा कर्मचारीको पारिश्रामिकमा ४४ करोड १२ लाख २ हजार रकम छुट्याइएको छ भने पोशाक शिर्षकमा २१ लाख ४० हजार, खाद्यन्नमा १५ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा २ लाख रकम छुट्याइएको छ ।
यसैगरी करार सेवा शुल्क शिर्षकमा पनि उल्लेख्य बजेट छुट्टिएको छ, करार सेवा शुल्कमा ७ करोड १६ लाख २८ हजार, अन्य सेवा शुल्कमा ५ लाख, कार्यक्रम खर्चमा १२ करोड २३ लाख ८९ हजार रकम छुट्याइएको छ ।