मेचीनगर, असार ११ । अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैद्य ओसारपसार विरुद्धको दिवसको अवसरमा झापाको काँकरभिट्टामा र्याली निकालिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्रको आयोजना तथा लागुऔषध विरुद्धकै अभियानमा पूर्वीनाकामा सक्रिय विभिन्न संघसंस्थासँगको सहकार्यमा आज र्याली निकालिएको हो ।
‘लागुपदार्थको खेति र कारोवार : भताभुङ्ग परिवार र बास हुन्छ कारागार’ ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धता : लागुऔषध अपराध विरुद्धको ऐक्यवद्धता’ लगायत लागुऔषध विरुद्धको सचेतना स्वरुप विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर इलाका परिषरबाट निस्किएको र्याली काँकरभिट्टा बजार परिक्रममा गर्दै बाहुण्डाँगी रोडमा रहेको ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’ परिषरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागुऔषधको दुव्र्यसनी समाजमा व्यापक बन्दै गएको र यसलाई न्युनिकरणका लागि हरेक क्षेत्र सचेत बन्नुपर्ने बताउनुभयो । लागुऔषध न्युनिकरणका लागि नगरपालिकाले पनि प्रभावकारी कार्यक्रमको खोजी गरिरहेको र यस क्षेत्रमा बजेट नै निर्धारण गरेर कार्यक्रम सञ्चालन गरिने उहाँको भनाई थियो ।
अन्तराष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैद्य ओसारपसार विरुद्धको दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय र मेची सामुदायिक सेवा केन्द्रले यसअघि देखिनै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिरहेका थिए । अन्तरक्रिया देखि टोलटोलमा पुगेर सचेतामुलक कार्यक्रम स्वरुप सप्ताहव्यापी कार्यक्रम आयोजना भएको थियो । जसको समापन स्वरुप आज दिवसका अवसरमा र्याली निकालिएको इलाका प्रहरी कार्यालयका प्रमुख दिपक भारतीले जानकारी दिनुभयो ।
लागुऔषध विरुद्धको अन्तरक्रिया कार्यक्रम, ‘रेस्टुरेण्टमा‘ भयो समापन
इलाका र सामुदायिक सेवा केन्द्रको र्याली पश्चात लागुऔषध न्युनिकरण कै सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पनि आजै सम्पन्न भयो । तर अचम्मको कुरा के भने उक्त कार्यक्रम कुनै सभाहलमा नभइ काँकरभिट्टा स्थित ‘बोर्डल्याण्ड क्याफे एण्ड बार’मा सम्पन्न भयो । अन्तरक्रियामा प्रदेश सांसदसँगै स्थानीय तहका प्रमुख, सुरक्षाकर्मीहरु, विभिन्न संघसंस्थामा क्रियाशिल व्यक्तित्व तथा कक्षा ८-९ मा अध्यनरत विद्यार्थीहरुको उपस्थिती थियो । जुन कार्यक्रम अन्य कुनै सार्वजनिक स्थानमा आयोजना हुनुपर्नेमा रेस्टुरेण्टमा आयोजना हुँदा सबै चकित पनि भए ।
अर्थात जुन कार्यक्रममा विद्यार्थीहरुलाई लागुऔषध प्रयोग गर्न हुँदैन भनेर सम्झाइन्दैथ्यो त्यही हल परिषरमा भने विभिन्न माद्यक पदार्थको विज्ञापनको बोर्ड टाँगिएको थियो । जुन विषयमा प्रश्न गर्दा आयोजकले अन्य स्थानमा हल नभेटिएका कारण यहाँ कार्यक्रम आयोजना गर्नुपरेको जवाफ दियो । अन्तरक्रिया कार्यक्रम कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजना भएको हो ।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख बुढाथोकी, मेचीनगर ६ का वडाध्यक्ष ललित बहादुर तामाङ, सशस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख निर्मल थापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख भारती लगायतले लागुऔषध नियन्त्रणका लागि आगामी कदमका विषयमा विभिन्न सुझाव राख्नुभएको थियो ।