मेचीनगर, असार ७ । सफा छ नगर, सुन्दर छ नगर अनि व्यस्त पनि छ नगर । बगैँचामा हरियाली छ, मेयर उपमेयर बस्ने कोठा चिटिक्क छ, हाकिम बस्ने कोठामा पनि कतै फोहोर देखिँदैन । साँच्चै भन्नुपर्दा हाम्रो नगर सफा छ अनि सुन्दर पनि । तर, यो नगर यति सफा र सुन्दर कसले बनाउँदैछ ? कसको यत्नमा नगरपालिका चिटिक्क बनेर सजिएको छ ? कसले सजाउँदैछन् नगरपालिकालाई ?
विहानको नौ बज्यो, मेचीनगर १० धुलाबारीका आकाश डुम (मल्लीक)लाई एकदमै हतारो छ । सेतो सर्ट र कालो पाइन्टमा सरकारी कर्मचारी झैँ आवरणमा सजिएका उनीलाई हतारो हो, नगरपालिका सफाइ गर्न जान । हो, उमेरले ३० बर्ष पुगेका उनी झापाको मेचीनगर नगरपालिकामा सफाइको काम गर्छन् । नगरपालिकालाई सफा राख्दा राख्दै उमेरको तीन दशक गुजारेका उनको जिन्दगीको कथा अलि भिन्न छ । पढेर ठुलो मान्छे बन्ने सपना बोकेर बाल्यकालमा स्कुल पुग्ने उनी आज नगरको सफाइमा रमाइरहेका छन् । ‘सपना त पढेर ठुलो मान्छे बन्ने अनि समाजको सेवा गर्ने थियो तर समय कहाँ आफ्नो बसमा मात्र हुँदो रहेछ र ?’ मनमा उदासी बोकेर उनी भन्छन् ‘यही नगरपालिकामा खेल्दै, रम्दै हुर्किएँ आज यही नगरमा भविष्य खोज्दैछु ।’
नगरपालिकाको सफाइसँग जोडिएको उनको सम्बन्ध निक्कै पुरानो छ । उनका बुबा पनि यसरी नै सफाइका काम गर्थे । अनि बुबाको सहारामा लड्दै, बढ्दै, रमाउँदा, रमाउँदै उनी पनि यही सफाइसँग जोडिए । तर, आज बुबा यो संसारमा छैनन् । उनी भने बुबाको यो पेशालाई अँगाल्दै सफाइको माध्यमबाट आम नगरवासीलाई सेवा गरिरहेका छन् । भन्छन्, ‘हामी नभएको भए यो नगरपालिका कहाँ यति सफा हुन्थ्यो होला र ! गर्व लाग्छ सफाइको माध्यमबाट सेवा गर्नु पाउँदा, हर्ष छ मलाई धर्म गर्न पाउँदा ।’
उनको वास्तविक नाम ‘आकाश’ भए पनि आजकल उनलाई सबैले ‘छोटे’ भनी बोलाउँछन् । र, उनी खुशी पनि हुन्छन् जब कसैले उनलाई ‘छोटे’ भनेर बोलाउँछन् । ‘मायाले बोलाएजस्तो लाग्छ, यो नगर, नगरका कर्मचारी सबै आफ्नै परिवार जस्तै रहेकाले नामबाट भन्दा ‘छोटे’ भनेर बोलाउँदा छुट्टै आनन्द आउँछ,’ उनी भन्छन् । सफाइको पेशालाई अँगाल्दै जीवनको गोरेटोमा हिँडिरेहका पैदल यात्री उनीसँग धेरै अनुभवहरु छन् । जसले सफाइका काम गर्ने धेरैको आवाजलाई बुलन्द बनाउँछ । फोहोरको काम गर्ने हुँदा धेरैले होच्याएर, हेपेर बोलेको क्षणको अनुभव छ उनीसँग ।
स्कुल पढ्दा ‘फोहोर आयो’ भन्दै साथीहरुले गिज्याएकोदेखि नगरका कर्मचारीले हप्काएको क्षण पनि उनले मनभित्र साँचेर राखेका छन् । भन्छन्, ‘आआफ्नो हेर्ने नजर न हो ! धेरैले होच्याउँछन्, हेप्छन् तर के भयो र ? समाजमा यस्ता मान्छेहरु पनि छन् जसले परिवार जसरी माया गरेका छन्, सहारा दिएका छन्, जुन सहाराले कर्ममा निरन्तर अडिग रहने प्रेरणा दिएको छ ।’ उनी ८–९ बर्षका थिए । जतिबेला बुबा धुलाबारी बजार सफाइको काम गर्थे । त्यतिबेलै देखि हो उनले सफाइको कर्म अँगालेको । नभए के थाहा ? सायदै उनी पनि कयौँ नेपाली युवा झैँ खाडीको घाममा संघर्ष गरिरहेका हुन्थे । आज उनीसँग बुबा त छैनन्, तर बुबाले सिकाएको पेशा त छ नि ! जसले परिवारमा खुशी छाएको छ, उनलाई जीवन सिकाएको छ र देखाएको छ यही पेशामा भविष्य पनि ।
२०४५ सालको कुरा हो । जतिबेला धुलाबारी गाउँ पञ्चायतका प्रधानपञ्च थिए, गोपाल खड्का । बजार ठुलो थियो, अहिलेजस्तो आधुनिक पसलहरु नभए पनि धुलाबारी बजार पो हो त ! पर्याप्त थिए पसलहरु । अहिले पो भित्री बाटाहरु पनि कालोपत्रे भए, त्यतिबेला कहाँ थियो र सबै बाटो कालोपत्रे ? कच्ची थिए । त्यसैबेलाको कुरो हो । बजार सफाइको कर्मचारीको रुपमा नियक्त भए दुखिया डुम (मल्लीक) । विहानै उठ्थे, अनि लाग्थे बजारतिर, बजार सफाइ गरेर सक्थे अनि फर्कन्थे घर । उमेरले पाँच बसन्त पार गरेका उनको ४५ सालदेखि ५३ सालसम्म यसरी नै चल्यो दैनिकी ।
तर, समयसँगै उनको दैनिकी पनि फेरिएको छ । अहिले उनी धुलाबारी बजारमा होइन मेचीनगर नगरपालिकाको कार्यालयमा भेटिन्छन् । जीवनका थुप्रै कालखण्ड फोहोरसँग संघर्ष गर्दै गुजारेका उनी यसै पेशामा सन्तुष्ट पनि छन् । भन्छन्, ‘यही फोहोरसँग लड्दालड्दै बुढो भइयो अहिलेसम्म पनि काम गर्ने जोश जाँगर मरेको छैन, पेशाबाट खुशी छु ।’ सफाइको काम शुरु गर्दा महिनाको तीन सय ६० रुपैँया ज्याला लिएको सम्झनछन् उनी । तर, आज ज्यालादारीमा होइन मासिक तलबमा काम गर्दैछन् । मासिक ३५ हजारसम्म तलब थाप्छन् । कहिलेकाहीँ भने माथिल्लो दर्जाका कर्मचारीले होच्याएर व्यवहार गर्ने भएकाले गुनासो पोख्छन् उनी । ‘तल्लो दर्जाको व्यवहार गर्छन् हामीलाई, होच्याउँछन् तर पनि सहनै परेको छ, सुखदःुख यस्तै हुन् अरु त ठिकै छ,’ उनी भन्छन् ।
उनले शुरुमा सफाइको पेशा अँगाल्दा र अहिले समय धेरै फेरिएको छ । सफाइका पनि आधुनिक औजारहरु आएका छन् । पहिले ठेला गुडाएर हातले सबै काम गर्नुपथ्र्यो भने अहिले त त्यस्तो छैन । आधुनिक औजारले सबै काम गरिदिन्छन् । समय, प्रविधि र परिस्थिति फेरिए पनि सफाइ गर्ने मानिसलाई हेर्ने नजरमा भने परिवर्तन नआएको उनको दुखेसो छ । भन्छन्, ‘हामी सफाइको माध्यमबाट सेवा गरिरहेका छौँ । हामीलाई हेर्ने नजर चाहिँ किन फरक परेको खै !’
सेतो सर्ट, कालो पाइन्ट । झट्ट हेर्दा कुनै अफिसका हाकिम भन्दा कम देखिँदैनन् । तर, हाकिमका अघि कम्प्युटर र हातमा कलम हुन्छ । उनका अघि छ फोहोर उठाउने डस्वीन र हातमा सफा गर्ने झाडु । मेचीनगर नगरपालिका परिसरमा सफा गर्ने क्रममा भेटिएका यी हुन् फकिर डुम (मल्लीक) । जसले नगरपालिका परिसरमा सफाइको काम गर्न थालेको नै दशकौँ भइसक्यो । लामो सुस्केराका साथ उनले भने, ‘यही काम गरेको बर्षाैँ भयो, फोहोरसँग संघर्ष गर्दै नातिनातिनाका धनी पनि भइयो अब त जिन्दगी नै यहिँ बित्छ होला ।’
गाउँको ‘सिंहदरबार’का रुपमा चिनिने स्थानीय तहमा यस्ता धेरै कर्मचारीहरु छन्, जसले हाम्रो ‘सिंहदरबार’ सजाइदिन्छन् र चिटिक्क बनाइदिन्छन् । अनि हामी त्यही चिटिक्क ‘सिंहदरबार’मा पुगेर आफ्नो काम सम्पन्न गर्छौँ । तर, हामीले कहिले बुझ्ने प्रयास गरेका छौँ ? यो नगरपालिकाको भवन कसले सफा राख्छ ? मेचीनगर नगरपालिकामा मात्रै सफाइका निम्ति चारजना कर्मचारी छन् ।