झापा,३ असार । अविरल बर्षासंगै आएको बाढी र पहिरोका कारण कोसी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता भएका छन ।
सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गएको हो । सङ्खुवासभामा बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
बाढी र पहिरोले सङ्खुवासभा पाँचथर र ताप्लेजुङमा अधिक धनजनको क्षति भएको छ । सङ्खुवासभामा २१ जना र पाँचथरमा ५ जना र ताप्लेजुङमा ३ जना वेपत्ता रहेको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको छ । डीआईजी बास्तोलाका अनुसार संखुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ ।त्यस्तै बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा कार्यरत गर्ने १८ मजदुर सम्पर्कविहीन भएका छन् ।
त्यस्तै सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता भएका छन् । घटनास्थलमा क्षतिको विवरण लिने र राहत तथा उद्धारको कार्य अघि बढाउन प्रहरी परिचालन गरिएको डीआईजी बास्तोलाले बताउनुभयो । त्यस्तै पाँचथरमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत दिलकुमार तामाङ,सन्जोग लोवा, आशिष र एलिसा माझी तथा अन्य एक जना बेपत्ता छन् ।
उता,ताप्लेजुङका सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउदाँ उता, ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । बेपत्ता परिवारमध्ये एक जनाको शव निकालिएको छ । यद्यपि उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सोही ठाउँका अर्का एक जना भरत तामाङ पनि बेपता भएको प्रहरीले जनाएको छ ।
बाढीले झापा, पाँचथर र ताप्लेजुङ जिल्ला जोड्ने मेची राजमार्गस्थित पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को बीचमा पर्ने हेवाखोला पुल बाढीले बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा अवरोध भएको छ ।
पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पुल बगेपछि पाँचथर र तराइका जिल्ला सम्पर्क बिच्छेद भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलका अनुसार उद्धार कार्यमा प्रहरीहरू परिचालन गरिएको भने वेपत्ताहरुको खोजी कार्य जारी छ ।