झापा, जेठ ३२ । कोशी प्रदेश सरकारले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ ।
जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पूजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीत तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको छ ।
त्यस्तै स्रोत तर्फ राजस्व ४ अरब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, वित्तियसमानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकि अपुग रकममा वचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नु भएको बजेटमा कृषि क्षेत्रमा २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ ।
हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधारका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । जसमा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोडका दरले र समानुपातिक सांसदलाई एक करोडका दरले पुर्वाधार विकासमा खर्च गर्न पाईने गरी बजेट बिनियोजन गरेको छ ।
सरकारले उद्योग क्षेत्रमा ४३ करोड २३ लाख बजेट विनियोजन भएको छ । यस्तै सडक पूर्वाधार विकासका लागि सरकारले ११ अर्ब ४१ करोड विनियोजन भएको छ । खानेपानी, सिंचाई तथा उर्जा क्षेत्रकोलागि ५ अर्ब ४३ करोड, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ७ करोड विनियोजन भएको छ । यस्तै शिक्षा र सामाजिक क्षेत्रमा १ अर्ब ७९ करोड बजेट छुट्टयाइएको छ । वन तथा वातावरण क्षेत्रमा १ अर्ब ८१ करोड, सुशासनतर्फ ९७ करोड बजेट विनियोजन भएको छ । चालू बजेट ८५ प्रतिशत खर्च हुने अनुमान कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको छ ।
बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले बहिष्कार गरेका छन । उनीहरूले अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधान विपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै बहिष्कार गरेका हुन ।